लघुवित्तकर्मीहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नपाउने विद्यमान व्यवस्था परिमार्जन भएर सीमा बढ्ने अपेक्षा गरेका छन् जसको असर स्वरुप आइतबारको शेयर बजारमा लघुवित्तको शेयर मूल्यमा उछाल देखियो ।
आइतबारको जस्तो बहार सोमबारको बजारमा नदेखिए पनि राष्ट्र बैंकले सर्कुलरबाट लघुवित्तले दिनसक्ने लाभांश दर तोकेपछि थप स्पष्ट हुनेछ । मेरो लगानीले लघुवित्त कम्पनीहरुले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा सार्वजनिक गरेको वित्तीय विवरणको आधारमा वार्षिकीकृत वितरणयोग्य प्रति शेयर आम्दानी गणना गरेको छ । यो गणना तेस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित हुनाले अब केही हप्तामा प्रकाशित हुने चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित भइसकेपछि भने केही फरक हुनसक्छ ।

लघुवित्त कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्त कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश दिन राष्ट्र बैंकले स्वीकृति दिएमा कुन लघुवित्त किन्न उपयुक्त हुन सक्छ । तथ्यांकको आधारमा कुन उपयुक्त हुनसक्छ, छनोट आधारको लागि तथ्यांक कम्पाइल गरिएको हो ।
तथ्यांक अनुसार नेप्सेमा सुचीकृत ५० वटा कम्पनीमध्ये २० वटाभन्दा बढी कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्छन् । लाभांश दिनसक्ने कम्पनी छनोट गर्दा कम्पनीले प्रकाशित गर्दा तेस्रो त्रैमासिकको प्रति शेयर वितरणयोग्य नाफालाई वार्षिकीकृत गरेर प्रस्तुत गरिएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै लाभांश दिनसक्ने लघुवित्तमा छिमेक लघुवित्त रहेको छ । कम्पनीले चालु आवमा ७६ रुपैयाँ ३५ पैसासम्म लाभांश दिनसक्ने अवस्था रहेको छ ।
त्यस्तै युनिक नेपाल लघुवित्तले ५६ रुपैयाँ ६४ पैसा, जीवन विकास लघुवित्तले ५४ रुपैयाँ ९७ पैसा, साना किसान विकास लघुवित्तले ४८ रुपैयाँ २५ पैसा, आत्मनिर्भर लघुवित्तले ३६ रुपैया ५२ पैसा, नेसनल लघुवित्तले ३५ रुपैयाँ ६० पैसा, स्वरोजगार लघुवित्तले ३४ रुपैयाँ ७२ पैसा, सर्पोट माइक्रोफाइनान्सले ३३ रुपैयाँ ३७ पैसा, मिथिला लघुुवित्तले ३१ रुपैयाँ ६९ पैसा र गुराँस लघुवित्त ३१ रुपैयाँ २० पैसा लाभांश दिन सक्ने अवस्था रहेको छ।
स्वाभिमान लघुवित्तले ३१ रुपैयाँ ५ पैसा, नेस्डो समृद्धिले २८ रुपैयाँ ८९ पैसा, उपकार लघुवित्तले २८ रुपैयाँ ११ पैसा, डिप्रोक्स लघुवित्तले २५ रुपैयाँ ८१ पैसा, समाज लघुवित्तले २२ रुपैयाँ ८८ पैसा, सिर्जिनशिल लघुवित्तले २२ रुपैयाँ ५३ पैसा, सीवाईसी नेपाल लघुवित्तले २१ रुपैयाँ ६७ पैसा, ग्लोबल आईएमई लघुवित्तले १९ रुपैयाँ १३ पैसा, माहुली लघुवित्तले १६ रुपैयाँ ३५ पैसा र उन्नति सहकार्य लघुवित्तले १५ रुपैयाँ ९९ पैसा लाभांश दिन सक्ने क्षमता रहेको छ ।
फरवार्ड, निर्धन उत्थान र कालिका लघुवित्तले १२ देखि १३ प्रतिशतको हारहारीमा लाभांश दिन सक्ने अवस्था छ भने स्वावलम्बन, आशा, गणपति, आरएसडीसी, लक्ष्मी, आरम्भ चौतारी, फर्स्ट माइक्रो फाइनान्स, हिमालयन, इन्फिनिटि, सुर्योदय वोमी, एनएमबी महिला, समता घरेलु र एनआईसी एसिया लघुवित्तले भने १० प्रतिशत भन्दा मुनि लाभांश दिने क्षमता रहेको छ ।
तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बाँकी १३ वटा कम्पनीको भने वितरणयोग्य नाफा ऋणात्मक रहेको हुँदा लाभांश वितरण गर्न सक्ने क्षमता नहुन सक्छ तर चौथो त्रैमासिकमा लघुवित्तको विवरण सुध्रिएर आउन सक्ने हुँदा आशा गर्न सक्ने ठाउँ भने छ।
तथ्यांक अनुसार विन नेपाल, अभियान, मानुषी, नाडेप, नेरुडे मिर्मिरे, धौलागिरी, सामुदायिक, मातृभूमी, ग्रामीण विकास, जनउत्थान सामुदायिक, विजय, सम्पदा र मेरोमाइक्रो फाइनान्सले लाभांश दिन नसक्ने अवस्था देखिएको छ।