साथै उनले आफूले कर्जा लिएका बैंकका उच्च अधिकारीहरुसँग छलफल गर्दै ऋण तिर्नको लागि स्पष्ट खाका पेश गर्ने तयारी गरिरहेको प्रसाईं निकट स्रोतले जानकारी दिएको छ ।
गत चैत १५ गते राजावादीको प्रदर्शनका नाममा भएको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका प्रसाईं केही दिन अघि धरौटीमा रिहा भएका छन् । आफु जेलमा पर्दा रिहाईको लागि पहल नगरेको भन्दै उनी राजाबादी समूहहरुसँग मात्र होइन, आफ्नै समर्थकहरुसँग पनि आक्रोसित देखिएका छन् । सबैजना आफूलाई उचालेर आ-आफ्नो स्वार्थ पुरा गर्ने प्रयास गरेको भन्दै त्यस्ता समर्थकहरु आफूलाई नचाहिने र अब आफू कसैको गोटी नबन्ने उनको दावी छ ।
धरौटीमा रिहा भए पनि प्रसाईंविरुद्ध चैत्र १५ को घटनामा भएको धनजनको नोक्सान र राज्य विरुद्धको विप्लव गरेको, बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुद्धीकरण सम्वन्धि मुद्दा अदालतमा विचाराधिन छ । यी मुद्दाहरु कहिले फैसला होलान् त्यो यकिन छैन । त्यसैले फेरि विवादमा परेर आफूलाई थप अफ्ठारोमा पार्नुभन्दा सरकार र बैंक तथा वित्तीय संस्थासंग सम्वन्ध सुधार गरेर आफ्नो अवस्था सहज बनाउने प्रयासमा प्रसाई लागेको उनी निकटका व्यक्तिहरु बताउँछन् । ‘यसपटकको जेल बसाईबाट उहाँ निकै गलेजस्तो देखिन्छ, सरकारसँग लडेर सक्दिन भन्ने निष्कर्षमा पुग्नु भएको छ भन्ने कुरा उहाँको कुराबाट बुझ्न सकिन्छ । साथै आफूलाई साथ दिनेहरु दुखमा होइन, सुखमा मात्र साथ दिने खालका रहेछन्, यस्ताको भर पर्दा म डुबें भन्ने उहाँको बुझाई छ । यद्धपी सार्वजनिक रुपमा भने म गलें, थाकें भन्ने कुरा भएन,’ जेलबाट छुटेको केही दिनमा प्रसाईंसँग भेटेका एक व्यक्ति भन्छन् ।

प्रसाईले अहिले ‘आफू जेल परेकोले तिर्न सकिन केही समय दिनुस’ भन्दै ऋण दिएका बैंकका अधिकारीहरुसँग अनुरोध गर्न थालेका छन् ।
बैंकहरु पनि प्रसाईलाई अलिकति सुविधा दिएर भए पनि कर्जा असुली गर्ने पक्षमा छन् । ‘उनको मुद्दाकाे अन्तिम किनारा लाग्दा के होला ? यदि त्यतिबेला अदालतले उनलाई केही वर्षको जेल सजाय तोक्यो भने ऋण असुल गर्न सकिदैन । त्यसैले मुद्दा किनारा नलाग्दै जसरी जति सकिन्छ, त्यसरी असुल गरौं भन्ने हाम्रो प्रयास हो,’ प्रसाईलाई कर्जा दिएका एउटा बैंकका एक अधिकारी भन्छन् ।
प्रसाईले नबिल (तत्कालीन एनबी) बैंक, प्रभु बैंक, तत्कालीन एनसिसी हालको कुमारी बैंक, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमई बैंक र लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सबाट लिएको ऋणकाे साँवा–ब्याज सात अर्बभन्दा धेरै रहेको छ ।