अहिलेसम्म माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नबिल बैंक, हिमालयन बैंक र एनएमबी बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । अहिलेसम्म हेर्दा सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको ३८.२७ प्रतिशत देखिएको छ। यसैगरी कृषि विकास बैंकको २०.७७ प्रतिशत, सानिमा बैंककाे २०.४७ प्रतिशत, नबिल बैंककाे १७ दशलब ६४ प्रतिशत, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, एनएमबी बैंककाे १० दशमलब ४० प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत र सिटिजन्स बैंकको ५.२५ प्रतिशत देखिएको छ ।
यता पुँजी बजारमा वाणिज्य बैंकको लाभांश क्षमताको आधारमा नै बजार मूल्य समेत कायम भएको देखिएको छ । सबैभन्दा धेरै लाभांश क्षमता भएको एभरेष्ट बैंकको बजार मूल्य सबैभन्दा बढी कायम भएको छ भने लाभांश क्षमता शून्य रहेको कुमारी बैंक र हिमालयन बैंकको शेयर मूल्य भने न्यून नै देखिएको छ ।

चुक्ता पुँजीका आधारमा १० बैंकमध्ये नबिल बैंकको चुक्ता पुँजी सबैभन्दा बढी २७ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने सबैभन्दा कम माछापुच्छ्रे बैंकको ११ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यता नाफा सञ्चिति भने सबैभन्दा धेरै नबिल बैंकको ३६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको समेत १९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । सबैभन्दा कम सञ्चित नाफा भने माछापुच्छ्रे बैंकको ७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने सानिमा बैंकको ९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । १० वाणिज्य बैंकमध्ये एभरेष्ट, कृषि विकास, नबिल र सिद्धार्थ बैंकको सञ्चित मुनाफा चुक्ता पुँजी भन्दा बढी रहेको छ ।
१० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै मुनाफा नबिल बैंकले ७ अर्ब १३ करोड रुपैयाँ कमाएको छ भने सिटिजन्स बैंकले सबैभन्दा कम १ अर्ब २९ करोड रुपैयाँ कमाएको छ । प्रति शेयर आम्दानीको आधारमा भने एभरेष्ट बैंक उत्कृष्ट देखिएको छ । एभरेष्टको प्रति शेयर आम्दानी (इपीएस) ३७ रुपैयाँ ९९ पैसा रहेको छ भने हिमालयन बैंकको प्रति शेयर आम्दानी सबैभन्दा कम ६ रुपैयाँ ९८ पैसा रहेको छ। लाभांश बाँड्न सक्ने क्षमताको आधारमा एभरेष्ट बैंक अब्बल देखिन्छ । बैंकहरुले ५ देखि ३८ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता छ । १० वटामध्ये कुमारी र हिमालयन बैंक गरी दुई बैंकले भने लाभांश बाँड्न सक्ने क्षमता नरहेको वित्तीय विवरणले देखाएको छ ।
खराब कर्जाको आधारमा सबै १० वटा बैंकमध्ये ८ वटा बैंक ५ प्रतिशतको थ्रेसहोल्ड भन्दा मुनि नै रहे पनि कुमारी र हिमालयन बैंकको खराब कर्जा भने ५ प्रतिशत माथि छ । तथ्यांक अनुसार कुमारीको खराब कर्जा ६ दशमलब ४२ प्रतिशत र हिमालयन बैंकको खराब कर्जा ७ दशमलब २८ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड रुपैयाँ नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि हो। बैंकको ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड पुगेको छ भने प्रावधान रकम घटेर १ अर्ब ३९ करोडबाट ३५ करोड ३७ लाखमा सीमित भएको छ। प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको छ। बैंकले ९ रुपैयाँसम्म लाभांश बाँड्न सक्छ । गत वर्ष माछापुच्छ्रे बैंकले लाभांश बाँडेको थिएन । कम्पनीको खराब कर्जा ३ दशमलब ८३ प्रतिशत छ ।
कुमारी बैंक
कुमारी बैंकको नाफा दुई अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४६ लाख रुपैयाँको तुलनामा करिब ४ सय गुणा हो।
यस बैंकको खराब कर्जा प्रावधान रकम ६ अर्बबाट २ अर्बमा झरेको र ब्याज आम्दानी ७ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ। तर वितरणयोग्य नाफा दुई अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक रहेको छ । खराब कर्जा असुली अझै हुन नसक्दा बैंकको खराब कर्जा राष्ट्र बैंकले तोकेको थ्रेसहोल्ड भन्दा माथि छ । कुमारी बैंकले गत वर्ष पनि लगानीकर्ताको हात खाली गरेको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको कुल नाफा १०.२४ प्रतिशतले वृद्धि भइ ३ अर्ब ३९ करोड पुगेको छ। वितरणयोग्य नाफा २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड पुगेको छ। ब्याज आम्दानी ६.४३ प्रतिशतले वृद्धि भइ ८ अर्ब ४४ करोड पुगेको छ। प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा रहेको छ।
बैंकले डिबेन्चर रिडेम्सन रिजर्भका लागि १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ। अघिल्लो वर्ष सोही अवधिसम्म वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँमात्र थियो। गत वर्ष कम्पनीले ४ प्रतिशत नगद लाभांश बाँडेको थियो ।
कृषि विकास बैंक
कृषि विकास बैंकले ४४ प्रतिशत नाफा वृद्धि गर्दै ४ अर्ब १५ करोड कमाएको छ। प्रावधान रकम दुई अर्ब १५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ।
यस बैंकको ब्याज आम्दानी भने ७ प्रतिशतले घटेर ९ अर्ब ८२ करोडमा पुगेको छ। प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा छ। कम्पनीले गत वर्ष ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश गरेर कुल १० दशमलब ५३ प्रतिशत लाभांश बाँडेको थियाे ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटेर १ अर्ब २९ करोडमा झरेको छ। प्रावधान रकम १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ। यस बैंकको ब्याज आम्दानी करिब १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड पुगेको छ। प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको छ। बैंकको ५ दशमलब २५ प्रतिशत लाभांश क्षमता रहेको छ । बैंकले गत वर्ष पनि ४ प्रतिशत बोनस र शून्य दशलब २१ नगद लाभांश गरेर कुल ४.२१ प्रतिशत लाभांश बाँडेको थियो ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले गत आवमा झन्डै पाँच अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन ३२.८० प्रतिशतले वृद्धि हो। खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड पुगेको छ। बैंकले गत वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश बाँडेको थियो ।
यस बैंकको सञ्चालन नाफा पनि ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड पुगेको छ। बैंकले सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखाएको छ।
सानिमा बैंक
सानिमा बैंकले गत आवमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन ७.२४ प्रतिशतले बढेको हो। ब्याज आम्दानी २.८१ प्रतिशतले वृद्धि भइ ६ अर्ब ३५ करोड पुगेको छ।
यस बैंकको वितरणयोग्य नाफा ९२.१३ प्रतिशतले बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा १.२१ प्रतिशत कायम रहेको छ। प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ। सानिमा बैंकले गत वर्ष ५ दशमलब २६ प्रतिशत नगद लाभांश दिएको थियो।
हिमालयन बैंक
सिभिल बैंकलाई आफूमा गाभेपछि हिमालयन बैंकको वित्तीय अवस्था अझै राम्रो हुन सकेको छैन । गत वर्षको असारको तुलनाको खराब कर्जाको मात्रा झनै बढेको छ भने इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफामा केही वृद्धि देखिएको छ । गत वर्ष लगानीकर्ताको हात शुन्य पारेको बैंकले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको कारण यस वर्ष पनि कुनै लाभांश दिन सक्ने छैन ।
नबिल बैंक
नेपाल बंगलादेश बैंकलाई सस्तो मूल्यमा आफूमा गाभेर ठूलो बैंक बनेको नबिल बैंकले रिजर्भ, खुद मुनाफाको हिसाबले आफ्नो अब्बलता कायमै राखेको छ । ७ अर्ब १३ करोड रुपैयाँ कमाएको बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा भए पनि बैंकले १७ रुपैयाँ ६४ पैसासम्म लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । बैंकले गत वर्ष १० प्रतिशत नगद लाभांश बाँडेको थियो ।
एनएमबी बैंक
विकास बैंकहरुलाई आफूमा गाभेर ठूलो बैंक बनेको एनएमबी बैंक पनि विगत वर्षहरुभन्दा आफ्नो वित्तीय विवरणमा सुधार गरेको छ । १८ अर्ब ३७ अर्ब चुक्ता पुँजी भएको बैंकमा १४ अर्ब २४ करोड रुपैयाँ रिभर्ज रहेको छ । गत वर्ष कुनै लाभांश नबाँडेको यो बैंकले चालु वर्ष भने १० रुपैयाँ ४० पैसाको हाराहारीमा लाभांश बाँड्न सक्ने हैसियत बनाएको छ । बैंकको प्रति शेयर आम्दानी भने १७ रुपैयाँ ८७ पैसा छ । बैंक खराब कर्जा ३ दशमलब ७२ प्रतिशत छ ।