झन् घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

Aug 16, 2025 11:01 AM Merolagani



वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा झन् घटेको छ। बैंकहरुको औषत ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषतमा ५.६९ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेको बैंकहरुले भदौ महिनामा अधिकतम औषतमा ५.५७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। त्यस्तै, साउन महिनामा संस्थागत मुद्दति निक्षेपमा ४.११ प्रतिशतविन्दु रहेको बैंकहरुको अधिकतम औषत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशतविन्दुमा झरेको छ।

साउनको तुलनामा २० वाणिज्य बैंकहरुमध्ये ८ वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् भने बढाउने बैंक भने प्रभु बैंक रहेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौमा अधिकतममा ५.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १.१३ प्रतिशतविन्दुले ब्याजदर घटाएको हो। यता प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशतविन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक प्रभु बैंक थियो।

व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। सो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो। बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ। सो बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा भने ७ वाणिज्य बैंकहरुले अधिकतम ब्याजदर घटाएका छन् भने कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। यस्तो मुद्दति निक्षेपको ब्याजदर औषतमा ०.१५ प्रतिशतविन्दु घटेको हो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।