बीमा कम्पनीले शेयर बजारमा लगानी गर्ने सीमा बढ्यो, बढला त शेयर बजार

Sep 03, 2025 04:50 PM MeroLagani



बाबुकृष्ण महर्जन

बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको १५ प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न सक्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ जारी गर्दै शेयर बजारमा गर्न सक्ने लगानीको सीमा बढाएको हो । प्राधिकरणले भदौ १७ गते बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ स्वीकृत गरेको हो ।

यसअघि बीमा कम्पनीहरुले शेयर बजारमा कुल लगानीको १० प्रतिशतसम्म मात्रै लगानी गर्न सक्ने प्रावधान थियो । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले बीमा कम्पनीहरुले शेयर बजारमा गर्न सक्ने सीमा ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएको बताए । लगानी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीले शेयर बजारमा लगानी गर्ने सीमा बढाएपछि शेयर बजारमा बीमा कम्पनीको लगानी थपिने आशा लगानीकर्ताहरुले गरेका छन् ।

गत आवमा जीवन बीमा कम्पनीले ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ६७ अर्ब २३ करोड २५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । त्यसमध्ये जीवन बीमा कम्पनीले साढे ३० अर्ब र निर्जीवन बीमा कम्पनीले साढे ४ अर्ब रुपैयाँ जति रकम शेयर बजारमा लगाएका छन् । कुल लगानीको ५ प्रतिशत सीमा बढेसँगै बीमा कम्पनीहरुको शेयर बजारमा लगानी गर्ने सीमा समेत बढ्ने देखिएको छ ।

लगानी निर्देशिकाले नेपाल सरकार वा राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र र केन्द्रीय बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक र पूर्वाधार विकास बैंकको मुद्दतीमा कुल लगानीको प्रत्येकमा ३० प्रतिशतसम्म अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । लगानी निर्देशिका अनुसार बाँकी ४० प्रतिशत रकम मात्रै बीमा कम्पनीले स्वविवेकले लगानी गर्न सक्ने गरी निर्देशिका ल्याइएको छ ।

बीमा कम्पनीहरुले पुरानो निर्देशिका अनुसार एउटै म्युचुएल फन्डमा १ प्रतिशत मात्रै लगानी गर्नुपर्ने प्रावधान रहेकोमा त्यसलाई बढाएर २ प्रतिशत बनाइएको छ । म्युचुअल फन्डमा हुने लगानीको कुल लगानीमा भने कुनै परिवर्तन भएको छैन । बीमा कम्पनीहरुले म्युचुअल फन्डमा कुल लगानीको ५ प्रतिशतसम्म लगानी गर्न सक्ने पुरानो व्यवस्थालाई भने यथावत राखिएको उनले बताए । उपनिर्देशक वाग्लेले सरकारी ऋणपत्रहरुमा लगानी गर्ने सीमा पहिलेको लगानी निर्देशिकामा भन्दा ५ प्रतिशतले वृद्धि गरेर ३० प्रतिशत पुर्याइएको छ ।

क वर्गको वाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा कुल लगानीको ३० प्रतिशत रकम अनिवार्य मुद्दती निक्षेप राख्नुपर्ने बाध्यता रहे पनि विकास बैंक र फाइनान्स कम्पनीमा भने यो अनिवार्य छैन । ख वर्गको विकास बैंकमा कुल लगानीको अधिकतम १० प्रतिशतसम्म मात्रै मुद्दती निक्षेप राख्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएर १५ प्रतिशत पुर्याइएको छ । त्यस्तै फाइनान्समा ५ प्रतिशतसम्म मात्रै मुद्दती निक्षेप राख्न पाइनेमा त्यसलाई बढाएर ७ प्रतिशत पुर्याइएको छ ।

ऐनले स्वीकृति लिनुपर्ने भनेर तोकिएको क्षेत्र बाहेकका क्षेत्रमा लगानी गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने गरी लगानी निर्देशिकालाई संशोधन गरिएको उपनिर्देशक वाग्लेले बताए । तोकिएको क्षेत्रमा तोकिएको सीमा भन्दा बढी रकम लगानी गर्न भने निर्देशिकाले अंकुश लगाएको छ ।

पछिल्लो समय बीमा कम्पनीहरुले आफ्नो छुट्टै सहायक कम्पनी खोल्ने प्रवृत्ति समेत विकसित हुँदै गएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सहायक कम्पनीको रुपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी र नेपाल लाइफ क्यापिटल स्थापना गरेर सञ्चालन गरिरहेको छ । नयाँ लगानी निर्देशकाका अनुसार बीमा कम्पनीहरुले कुल लगानीको ५ प्रतिशतसम्म रकम इन्भेष्टमेन्ट कम्पनी वा अन्य सहायक कम्पनी स्थापना गर्दा लगानी गर्न सक्नेछ ।





गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।