सरकार प्रति रुष्ट रहेका जेनजी पुस्ताले गरेको प्रदर्शनले जति सरकारी सम्पत्तिको क्षति भयो त्यो भन्दा बढी निजी क्षेत्रको मनोबल खस्किएको ठहर गरिएको छ। अझै व्यवसायीहरूले नेपालमा कामै गर्न नसक्ने अवस्था सिर्जना हुन थालेको निष्कर्ष निकालेका छन्। हरेक महिना जसो हुने आन्दोलनको तारो निजी क्षेत्र नै हुन थालेपछि व्यवसायीले त्यस्तो निष्कर्ष निकालेका हुन्। अझै यसपाली त व्यवसायीको ज्यानै लिने उद्देश्यले घर नै लक्षित गर्दै जलाइदिएपछि उनीहरू थप त्रसित बनेका छन्।
जेनजीको प्रदर्शनले चौधरी ग्रुपमा ठुलो क्षति पुर्यायो। चौधरीको कार्यालयसँगै निजी निवासमा तोडफोड, आगजनी र लुटपाट भयो। उता उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आइएमई समूहले लगानी गरेको चन्द्रागिरी केबलकार र मौलाकाली केबलकारमा समेत आगजनी तथा तोडफोड भयो। अध्यक्षको घर समेत लक्षित गर्दै प्रदर्शनकारी बढेपनि समयमा नै सुरक्षित हुन सफल भएको बताइएको छ।
अहिले व्यवसायीक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यवसायीसँग संवाद गरिरहेको उनका निकट स्रोतले बताइएको छ। उद्योग वाणिज्य महासंघका एक प्रतिनिधिका अनुसार अहिले क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ। तर विवरण समेत उपलब्ध गराउने स्थितिमा व्यवसायी नरहेको उनको जिकिर छ। "अहिलेको अवस्था यस्तो छ कि क्षतिको विवरण त के आफू कुन ठाउँमा रहेको समेत व्यवसायीले दिन मानिरहेका छैनन्। व्यवसायी अहिले निक्कै त्रसित छ" उनले भने।
आन्दोलनको क्रममा पूर्व अध्यक्ष शेखर गोल्छाको घरमा पनि तोडफोड तथा आगजनी गरिएको बताइएको छ। जसले गर्दा सबै अहिले अन्योलको स्थिति छ।
मेरो लगानीले उद्यमी व्यवसायी सित कुरा गर्दा कसैले पनि आफ्नो कोट उल्लेख नगर्न आग्रह गरे। उनीहरूमा एक अनिश्चितता देखिन्छ। "हरेक महिना जसो हुने आन्दोलनमा निजी क्षेत्र तारो बनिरहेको छ। यसरी कसरी काम गर्न सकिन्छ। यस पटक त हदै भयो। बाल बाल ज्यान जोगियो। यसरी ज्यान नै हत्केलामा रेखेर कति समय व्यवसाय गर्न सकिन्छ ? व्यवसायीहरूको व्यवसाय भन्दा ठुलो ज्यान हो। त्यसले गर्दा राज्य यसरी सुरक्षाको प्रत्याभूति दिन नसक्ने हो भने अब यहाँ व्यवसाय गरेर बस्न सकिँदैन" एक ठुला व्यवसायीले मेरो लगानीसँग भने।