यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM mero lagani



जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो । 

तर, बालेन अगाडि सरेनन् । बरु उनले बेला बेलामा समाजिक संजालमा लेख्दै आन्दोलनकारीहरु र नयाँ सरकार बनाउन समन्वय गरिरहेको सैनिक नेतृत्वसंग दूरी बनाइरहे । सम्पर्कबाट टाढा बसे ।

अन्त्यमा उनले पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीलाई समर्थन रहेको घोषणा गरे । यसै पनि जेनजीलगायतका सबै पुस्ताका धेरै मानिसहरुको मनमा बसेकी कार्कीलाई प्रधानमन्त्री बन्ने बाटोलाई बालेनको उक्त घोषणाले थप सहज बनाइदियो ।

लगभग चौतर्फी माग हुँदा देशको नेतृत्व लिन अर्थात प्रधानमन्त्री बन्न बालेन किन तयार भएनन् ? धेरैले आश्चर्य मानिरहेको अवस्था छ । बालेन निकट व्यक्तिहरुका अनुसार उनले प्रधानमन्त्री बन्न अगाडि नसर्नुको चार वटा गम्भिर कारणहरु छन् ।

सबैभन्दा पहिलो त पुननिर्माण गर्न स्रोत व्यवस्थापन गर्न सहज छैन भन्ने बुझाई हो । यसै पनि जर्जर रहेको देशको अर्थतन्त्रलाई जेनजीको आन्दोलनले खर्बाैं नोक्सानी गरेको छ । मुख्य सरकारी संरचनाहरु ध्यस्त भएका छन् । र, तिनीहरुको पुननिर्माणको लागि अथाह स्रोत साधनको व्यवस्थापन गर्नु पर्ने वाध्यता छ, जुन काम सजिलो छैन ।

त्यही कुरा बालेनले २-४ महिना प्रधानमन्त्री भएर असफल हुनुभन्दा बरु शुरुमै हात झिक्नु ठीक भन्ने महसुस गरेर पछाडि हटेका हुन् ।

अर्काे कारण उनको आफ्नै बोली हो । उनले विगतमा श्रीमती चढेको कार ट्राफिकले चेक जाँच गरेको आक्रोसमा सिंहदरबार नै जलाइ दिने घोषणा गरेका थिए । अहिले सिंहदरबारलगायतका सरकारी कार्यालयहरु लगभग ध्वस्त हुनुमा बालेनको त्यो घोषणाले पनि उत्प्रेरणाको काम गरेको धेरैको बुझाई छ । प्रधानमन्त्री वा मन्त्री भएपछि कसैले ‘सिंहदरबार जलाउने तपाईको सदिच्छा त पुरा भयो नि, होइन ?’ भनेर सोधेमा के जवाफ दिने भन्ने सोंचेर बालेन झस्किएको हुन सक्ने उनी निकटका व्यक्तिहरुको बुझाई छ । किनकी सिंहदरबारको सत्तामा पुगेपछि अहिले मेयर हुँदा जस्तो प्रश्नहरुबाट भागिरहने र सामाजिक संजालबाट जवाफ दिएर मात्र पुग्दैन भन्ने कुरा जो कसैलाई पनि थाहा भएकै कुरा हो ।

बालेन अगाडि नसर्नुको तेस्रो मुख्य कारण आफूलाई कुटनीतिक रुपमा परिपक्क नठान्नु हो । एउटा स्थानीय निकायको प्रमुख बन्नु र देशको कार्यकारी प्रमुख बन्नुमा आकास जमिनको फरक छ भन्ने कुरा बालेन जतिको चतुर व्यक्तिले नबुझ्ने कुरै भएन । दुई विशाल छिमेकी भारत र चीनको चेपुवामा परिरहेको नेपाल अमेरिकादेखि युरोपियन युनियनसम्मले ‘खेल्ने’ गरेको जगजाहेर छ । ती सबैबाट देशलाई जोगाउंदै, उनीहरुसंगको सम्वन्धलाई समेत कायम राख्नु चानचुने कुटनीतिक क्षमताले भेट्ने कुरा होइन ।

त्यस्को लागि उच्च कुटनीतिक क्षमता चाहिन्छ । एउटा कार्यकारी प्रशासक र जिम्मेवारीका हिसाबले आफूभन्दा तल रहेका उपमेयर, वडाअध्यक्षहरुसंग त प्रभावकारी समन्वय गर्न नसकिरहेको बेला शक्ति राष्ट्रहरुसंगको जटिल कुटनीतिक सम्वन्धलाई प्रगाढ बनाउंदै देशको सार्वभौम सत्ताको संरक्षण गर्ने हैसियत शायद आफूमा छैन भन्ने आत्मवोध गरेकोले उनी पछाडि हटे ।

उनी अगाडि नसर्नुको चौथो कारण हो— आफ्नै विशिष्ठ स्वभाव । उनी महानगरको मेयर भए पनि जनप्रतिनिधि जस्ता छैनन् । ‘राजा’ वा तिनका सन्तान जस्ता छन् । जनप्रतिनिधि जहिले पनि सहजरुपमा जनताको बीचमा हुन्छ, जनताका हरेक सुख दुखमा साथ दिएको हुन्छ । तर, उनलाई जनता त आफ्नै सहकर्मी जनप्रतिनिधिले पनि सहजरुपमा भेट्न, छलफल गर्न पाउंदैन । उनी अरुको कुरा सुन्न चांहादैनन्, आफ्नो निर्णय सुनाउंछन् । ठाडो भाषामा आफूलाई लागेको कुरा अरुलाई लाद्छन् । फुर्सदको बेला बरु रंगीन पार्टीहरुमा गएर मस्ति गर्छन्, तर मतदाता, जनता कहाँ जांदैनन् ।

यस्तो स्वभावका उनी प्रधानमन्त्री भइसकेपछि सम्भवतः मनमौजी जीवनशैली विताउन, रंगीन पार्टीहरुमा ‘टिनएजर’ जस्तै गरि रमाउन पाइदैन भन्ने बुझे । र, शायद उनको लागि जटिल अवस्थामा पुगेको देशको प्रधानमन्त्री भन्दा महानगरपालिकाको ‘मनमौजी मेयर’ नै प्राथमिकतामा पर्यो । त्यहीकारण उनले प्रधानमन्त्री बन्ने आँट गरेनन् ।