व्यवसाय जलेर ध्वस्त भयो, तर छैन आन्दोलनप्रति व्यवसायीमा गुनासो, बरु फेरि शून्यबाट उठ्ने सङ्कल्प

Sep 13, 2025 06:21 AM merolagani



सुवास निरौला

गत सोमबार जेनजी पुस्ताले प्रहरीलाई फूल दिएर प्रदर्शन सुरु गर्‍यो। तर तिनै फूल दिएर प्रदर्शन गर्ने जेनजी पुस्तामाथि तत्कालीन सरकारको निर्देशनमा प्रहरीले गोली बर्सायो। प्रहरीले बर्साएका गोली लागि सोही दिन १९ युवाले ज्यान गुमाए।

१९ युवाले ज्यान गुमाएपछि भोलिपल्ट मङ्गलवार देशै बल्यो। धेरै जसो सरकारी निकाय आन्दोलनकारीको निशानामा परे। आन्दोलनकारीको आगोको रापबाट निजी क्षेत्र पनि बच्न सकेन। निक्कै ठूलो जनधनको क्षति भयो। ५१ ले त यो आन्दोलनमा ज्यान नै गुमाए। कयौँ घाइतेको अहिले पनि उपचार भइरहेको छ।

यस्तो बर्बर अवस्था देखेका भोगेका व्यवसायी पुन: उठ्ने प्रयासमा छन्। यस अघि आन्दोलनमा हुने क्षतिमा निक्कै रुष्ट देखिने व्यवसायी यस पटक भने कत्ति पनि रुष्ट देखिएका छैनन्। बरु उनीहरू फेरि शून्यबाट सुरुवात गर्ने अठोट सहित उठ्ने प्रयास गरिरहेका छन्। मङ्गलवारको आन्दोलनमा भाटभटेनी सुपर मार्केटमा निक्कै ठूलो क्षति भयो। तर त्यसका सञ्चालक मीनबहादुर गुरुङ भने आन्दोलन र आन्दोनकारीहरु प्रति कत्ति पनि आक्रोशित देखिएका छैनन्। बरु उनी पाल टाँगेर भएपनि नयाँ शिराबाट सुरुवात गर्ने बताएका छन्। जबकी उनको २८ वटा स्टोरमध्ये २३ वटामा भौतिक आक्रमण भएको थियो भने १२ वटा जलेर नष्ट भएका थिए।

यता जेनजीको आन्दोलनमा भौति रुपमा नै आक्रमणमा परेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आफू र आफ्नो परिवार आन्दोलनका कारण कत्ति पनि निराश वा विचलित नभएको बताउँछन्। गोल्छाले सामाजिक सञ्जाल मार्फत यस्तो भनेका हुन्।"देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्। केही व्यवसायी माथि भएको बीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निराश वा विचलित भएको छैन। आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्’ गोल्छाले सामाजिक सञ्जाल मार्फत भनेका छन्।

यस अघि यति क्षति भयो। आन्दोलनका कारण व्यवसाय गर्न पाइएन। यस्तो मुलुकमा कसरी व्यवसाय गर्न सकिन्छ भन्ने खालको प्रतिक्रिया आन्दोलन पश्चात् आउने गर्थ्यो। तर यस पटक त्यस्तो देखिएको छैन। बरु मुलुकले नयाँ मोड लिनेमा उनीहरू आशावादी देखिन्छन्। आफ्नो व्यवसायमा भएको क्षतिले मुलुकलाई  सही दिशा निर्देश गर्न सघाउने भए उनीहरूको भएको क्षतिलाई पनि तिलाञ्जली दिन अहिले व्यवसायी तयार देखिन्छन्।

चौधरी ग्रुपमाथि पछिल्लो आन्दोलन निर्दयी देखिएको थियो। चौधरीले सञ्चालन गरेका धेरै व्यवसायमा आन्दोलनकारीले आगो लगाइदिए। अझै चौधरीको निवासमा नै भौतिक आक्रमण समेत भयो। तैपनि आज उनले नेपालीको मनै छुने प्रतिक्रिया दिएका छन्। "म यो माटोसँग शपथ लिन्छु, मेरो ह्रिदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुने छ। म पुन: निर्माण गर्ने छु, बलियो बनाउने छु र नेपाललाई अघि बढाउने छु। यो देशले हामीलाई सबै थोक दिएको छ। अब हाम्रो पालो हो। हामी सबै मिलेर नेपालाई केबल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउने छौ। यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर बाचा हो" नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरीले लेखेका छन्।

उद्योग वाणिज्य महासंघ होस् या नेपाल चेम्बर अफ कमर्स अनि सिएनआइ सबैले नयाँ दिनको सुरुवात गर्न सबैलाई व्यवसायीलाई प्रेरित गरिरहेका छन्। जसरी व्यवसायीका छाता सङ्गठनले व्यवसायीलाई उठ्न प्रेरित गरिरहेका छन्। त्यसले पक्कै पनि मुलुकमा नयाँ नेतृत्व सहित अग्रगमनको आस गरिरहेका छन्। जसले गर्दा अब गएको दिन बिर्सनु र नयाँ दिन नयाँ ढङ्गबाट सुरुवात गर्नुको विकल्प छैन।