विश्वमा महिला प्रधानमन्त्रीको ६५ वर्षे इतिहासमा ८० औं प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नाममा कायम भए कैयौं विश्व रेकर्ड !

Sep 12, 2025 09:12 PM mero lagani



अन्ततः सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन् । ४ दिनको रस्साकस्सी पछि प्रधानमन्त्री नियुक्त भएकी कार्कीको नियुक्तिसंगै नेपालको राजनीतिमा देखिएको अन्योल तत्कालको लागि एकहदसम्म हटेको छ र अब उनको सरकारले चाल्ने कदमहरुले देशको भविश्य निर्धारण गर्नेछ ।

कार्कीको नियुक्तिले नेपालको राजनीतिमा मात्र होइन, विश्वको राजनीतिमै अनेकौं रेकर्डहरु कायम भएका छन् । सन् १९६० को जुलाई २१ मा श्रीलंकाकी श्रीमाओ बन्दरनायके विश्वमै पहिलो पटक प्रधानमन्त्री हुने पहिलो महिला थिइन । त्यसयताको ६५ वर्षमा विश्वमा ७९ जना महिला प्रधानमन्त्री भएका छन् । र, कार्की प्रधानमन्त्री हुने ८० औं महिला भएकी छन् ।

नेपालको पहिलो महिला प्रधान न्यायाधीश बनेर रेकर्ड राखेकी उनले पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे रेकर्ड पनि राखेकी छन् ।

प्रधान न्यायाधीशबाट अवकाश पाएपछि प्रधानमन्त्री हुने विश्वकै पहिलो व्यक्ति पनि बनेकी छन् । दक्षिण एशियामा प्रधानमन्त्री हुने कार्की छैठौं महिला बनेकी छन् । दक्षिण एशियाली देशहरुमध्ये अहिले श्रीलंकामा हरिणी अमरसुरिया प्रधानमन्त्री छन् । उनी गत वर्ष प्रधानमन्त्री भएकी थिइन ।

त्यसअघि श्रीलंकाकै बन्दरनायक तीन पटक गरेर झण्डै १८ वर्ष प्रधानमन्त्री भएकी थिइन । त्यस्तै बंगलादेशमा बेगम खालिदा जिआ र शेख हसिना वाजेद, भारतमा इन्दिरा गान्धी र पाकिस्तानमा बेन्जिर भुट्टो प्रधानमन्त्री भएका थिए ।

अहिले दक्षिण एशियाली मुलुक श्रीलंकासहित समाओ, लात्भिया, कंगो, इटाली, बर्बाडोस, आइसल्याण्ड, नामिबिया, डेनमार्क, ट्रिनीडाट एण्ड टोबाकोमा महिला प्रधानमन्त्री छन् ।

विश्वमा सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री महिला फिनल्याण्डकी सन्ना मरिन हुन्, जो ३४ वर्षमा प्रधानमन्त्री भएकी थिइन भने सबैभन्दा वृद्ध उमेरमा प्रधानमन्त्री हुने श्रीलंकाकी बन्दरनायक नै हुन् । उनी ८० वर्षमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्री भएकी थिइन । तीन कार्यकाल गरेर १८ वर्षभन्दा लामो समय प्रधानमन्त्री भएकी थिइन । त्यस्तै स्विडेनकी म्यागडेल्ना एण्डरसन सन् २०२१ मा केवल साढे सात घण्टा मात्र प्रधानमन्त्री भएकी थिइन । उनी विश्वमै सबैभन्दा छोटो समय प्रधानमन्त्री हुने व्यक्ति हुन् ।

नेपालकी नवनियुक्त प्रधानमन्त्री भने ७३ वर्षको उमेरमा कार्यकाल सम्हालेकी छन् ।