दसैं, तिहार तथा छठजस्ता पर्वको समयमा हवाइ टिकटको अत्यधिक माग हुने भन्दै हवाइ सेवा कम्पनीहरुले उच्चतम भाडा तोकेका छन् ।
वायुसेवा कम्पनीहरुले अधिकतम भाडादर कायम गरेर स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)मा पठाएका थिए । क्यानले पनि वायु सेवा कम्पनीले कायम गरेको अधिकतम भाडादरमा स्वीकृति जनाउँदै दसैंका दिन अर्थात असोज १६ गते सुचना प्रकाशित गरेको छ ।
हुन त घटस्थापनापछि हवाइ कम्पनीले आफुखुसी हवाइ टिकट बेच्दै आएका थिए । चाडबाडमा हवाइ टिकटको अत्यधिक माग हुने तर सहज उपलव्ध नहुँदा महंगो भाडादरमा समेत टिकट बिक्रि हुने सम्भावना न्यूनीकरण गर्न भन्दै क्यानले अधिकतम भाडादर स्वीकृत गरेको जनाएको छ ।
तर, क्यानले स्वीकृत गरेको अधिकतम हवाइ भाडा पनि अहिले निकै महंगो देखिन्छ । यसअघि आन्तरिक उडानका लागि वायुसेवा कम्पनीले दसैं लक्षित भाडादर कायम गरेकोभन्दा सरकारले स्वीकृत गरेको भाडादर निकै महंगो देखिन्छ ।
यसअघि क्यानले दसैं लक्षित भाडादरअनुसार, काठमाडौं–विराटनगरका लागि अधिकतम भाडादर ८ हजार १३७ रुपैयाँ तय गरेको थियो । अहिले उक्त भाडादर ९ हजार ७८५ रुपैयाँ पुर्याएको छ । यसअघि काठमाडौं भरतपुरका एकतर्फी उडानका लागि ३ हजार ६३३ रुपैयाँ कायम भएको भाडादर अहिले बढेर ४ हजार ६४३ रुपैयाँ पुर्याएको छ । यसअघि काठमाडौं पोखरका लागि ४५०० देखि ५ हजार ३७७ रुपैयाँ कायम गरिएको हवाइ भाडा अहिले बढेर ६ हजार ६३५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, अन्य आन्तरिक उडानतर्फको हवाइ टिकटको मूल्य बढेको छ । काठमाडौं–भद्रपुरको हवाइ भाडा यसअघि १० हजार १७४ रुपैयाँ कायम गरिएकोमा अहिले बढेर १२ हजार ११२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, क्यानले स्वीकृत गरेको अधिकतम भाडादरअनुसार, काठमाडौं–जनकपुर अधिकतम भाडादर ५ हजार ४७० रुपैयाँ, काठमाडौं–नेपालगन्जको १३ हजार १०३ रुपैयाँ, काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ, काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ, काठमाडौं–भैरहवाको ८ हजार ४६१ रुपैयाँ, काठमाडौं– राजविराजको ८ हजार २१० रुपैयाँ, काठमाडौं–सुर्खेतको ९ हजार ३० रुपैयाँ र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ अधिकतम भाडादर कायम भएको हो ।
क्यानले अधिकतम भाडादर स्वीकृत गरेसँगै हवाइ यात्रु भने मारमा परेका छन् । चाडबाडका बेला हवाइमार्फत यात्रा गर्ने यात्रुहरुले महंगो टिकट किनेर यात्रा गर्न बाध्य छन् ।
तर, सरकारले भने यात्रुको हितभन्दा हवाइ कम्पनीको हित हुने गरी अधिकतम भाडादरमा सहमति गरेको देखिन्छ । अझ कतिपय हवाइ कम्पनीहरुले त क्यानले तोकेको भाडादरभन्दा पनि महंगोमा टिकट बेचेको उपभोक्ताहरुको गुनासो छ ।
क्यानले सुचनामार्फत उच्चतम हवाइ भाडादरभन्दा कुनै पनि वायु सेवा कम्पनी, आधिकारीक टिकट बिक्रेता, ट्राभल एजेन्सीले यात्रुसँग बढी रकम लिएर टिकट बेचेको खण्डमा कारबाही गर्ने जनाएको छ ।