सेयर बजारले भाग्यमानीलाई होइन, तयारी गरेका मानिसलाई पुरस्कृत गर्छ

Oct 11, 2025 06:04 PM merolagani



 देब गुरागाँई

नेपालमा २०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन देशको राजनीतिक, सामाजिक र आर्थिक जीवनमा ठूलो मोडका रूपमा स्मरण गरिन्छ।

युवा पुस्ताको आक्रोश, असन्तोष र भविष्यप्रतिको अनिश्चितताले जन्माएको यस आन्दोलनले तत्कालीन सत्ता संरचना हल्लाएको मात्र होइन, अर्थतन्त्रको मेरुदण्ड मानिने पूँजी बजारमा पनि प्रत्यक्ष अप्रत्यक्ष असर पारेको छ। जेनजी आन्दोलन उत्कर्षमा पुगेको केही दिन बन्द भएर खुलेको बजार प्रारम्भिक कारोबारमा निकै बिक्री चाप देखियो। धेरै लगानीकर्ताले आफ्नो सेयर बेचेर नगद सुरक्षित गर्न खोज्दा पहिलो दिन नेप्से सूचक ६ प्रतिशतले घट्यो, कारोबार मात्रा पनि सामान्य भन्दा कम रह्यो। यो मनोवैज्ञानिक असर हो आन्दोलनले ल्याएको अनिश्चितताका कारण लगानीकर्ताले जोखिम लिन चाहेनन्। तर, दोस्रो र तेस्रो दिनको कारोबारमा भने रोचक परिवर्तन देखियो। पूँजी बजार सुधार सम्बन्धि अध्ययन कार्यदल बनाउने सरकारी निर्णय र कार्यदलको सुझावले बजारमा विश्वास जगाउन सहयोग गर्‍यो। सूचकले क्रमशः नोक्सानी घटाउँदै सामान्य सुधारतर्फ उन्मुख देखिएता पनि त्यो धेरै दिन टिक्न सकेन।

२०८२ भदौ २२ गते नेपाल राष्ट्र बैंकले एक महत्वपूर्ण सर्कुलर जारी गर्दै सेयर बजारसँग सम्बन्धित दुई प्रमुख
नीतिगत परिवर्तन गरेको छ। पहिलो, लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएको व्यक्तिगत तर्फको एकल व्यक्ति सेयर धितो कर्जाको सीमा (२५ करोड रुपैयाँको सीमा) खारेज गरिएको छ। यसले अब लगानीकर्तालाई आफ्नै क्रेडिट क्षमताका आधारमा लचिलो रूपमा धितो कर्जा लिन सक्ने मार्ग खुला गरेको छ। दोस्रो, संस्थागत तर्फ अर्थात् बैंक तथा वित्तीय संस्थाहरूले सेयर खरिद गरी “होल्ड” गर्न पाउने अवधि पहिलाको १ वर्षबाट घटाएर ६ महिनामा सीमित गरिएको छ। यस निर्णयले संस्थागत लगानीको स्वामित्व अवधि छोट्याई बजारमा पूँजीको तरलता (liquidity) बढाउने उद्देश्य लिएको देखिन्छ। यस सर्कुलरले एकातिर लगानीकर्ताको दीर्घकालीन माग सम्बोधन गरेको छ भने अर्कोतिर बजारमा अल्पकालीन तरलता र द्रुत व्यापारिक गतिशीलता ल्याउने सम्भावना देखिएको छ।

यति हुँदा हुदै पनि सेयर बजार अस्थिर बनेको छ। राजनीतिक अनिश्चितता, नीतिगत अस्पष्टता, र लगानीकर्ताको मनोविज्ञान यी सबैले बजारलाई संवेदनशील बनाएका छन्। तर, बजारको अस्थिरता केवल सरकार वा अर्थनीतिक सूचकको कारण मात्र होइन लगानीकर्ताको व्यवहार र मानसिकता पनि त्यत्तिकै जिम्मेवार हुन्छ। सेयर बजार कुनै लाटो लहर होइन, जहाँ भाग्यले जोसुकैलाई माथि उठाउँछ वा तल झार्छ। यो एउटा अनुशासन, अध्ययन र रणनीतिमा आधारित आर्थिक कारोबार हो। तर हाम्रो बजारमा प्रायः लगानीकर्ताहरू उतारचढाब आइपुग्दा “भाग्यले साथ दिएन”, “राजनीति बिग्रियो”, “सरकारले गलत गर्‍यो” नियामकले गलत गर्यो भन्ने बहानामा  अल्झिन्छन्। यस्ता बहानाले न त घाटा रोक्छ, न त भविष्य उज्यालो बनाउँछ।

सफल लगानीकर्ताहरू फरक सोच राख्छन्। उनीहरू प्रत्येक ओरालोलाई सिकाइको अवसरका रूपमा लिन्छन्। बजार घट्दा उनीहरू डराउने होइन, विश्लेषण गर्ने काम गर्छन् । कुन कारणले गिरावट आयो ? के यो अस्थायी हो कि संरचनात्मक समस्या हो ? के यसले नयाँ अवसर खोल्न सक्छ ? उनीहरू सधैं तथ्य, डेटा र प्रवृत्तिमा विश्वास गर्छन्, भावनामा होइन। सेयर बजारमा “यो भयो, त्यो भयो, त्यहि भएर राम्रो गर्न सकिएन” भनेर निरन्तर बहाना बनाउने लगानीकर्ताका लागि केही सिधा तर उपयोगी सुझावहरू यस प्रकार छन्

१. जिम्मेवारी लिनुहोस् : बजार तपाईंको होइन, तपाईं बजारको भागीदार मात्र हुनुहुन्छ। सेयर बजारमा नाफा वा घाटा तपाईंको निर्णयको प्रतिफल हो। त्यसैले जिम्मेवारी पनि तपाईंको नै हो। जब तपाईं आफ्नो हरेक निर्णयको जिम्मेवारी लिन सुरु गर्नुहुन्छ, तब तपाईं साँचो लगानीकर्ताको यात्रामा उत्रिनुहुन्छ। बजार, ब्रोकर, समाचार वा अरुलाई दोष दिएर आफ्नो कमजोरी ढाक्ने बानीले दीर्घकालीन प्रगति रोक्छ। जिम्मेवारी लिनु भनेको सिक्ने ढोका खोल्नु हो।

२. सिकाइलाई प्राथमिकता दिनुहोस् : हरेक घाटा एउटा पाठ हाे। सफल लगानीकर्ताको ठूलो विशेषता हो, उनीहरू “घाटाबाट पनि कमाउँछन्”  तर पैसामा होइन, अनुभवमा। बजारको प्रत्येक ओरालोमा पनि एउटा सन्देश हुन्छ कुन प्रवृत्तिले असर गर्छ, कुन मनोवैज्ञानिक प्रतिक्रिया गलतसाबित हुन्छ, कुन क्षेत्रले दीर्घकालीन मूल्य राख्छ। हरेक गल्तीलाई “घाउ” होइन, “पाठ” बनाइयो भने, घाटा क्षणिक मात्र हुन्छ।

३. योजना बनाएर लगानी गर्नुहोस्: भावना होइन, तथ्यमा आधारित निर्णय लिनुहोस् । बजार भावनाले चल्दैन, तर भावनाले लगानीकर्तालाई चलाउँछ। जब बजार बढ्छ, धेरैजना लोभले अन्धा बन्छन् । जब बजार घट्छ, डरले भाग्छन्। दुवै अवस्थामा निर्णय गलत हुन्छ। त्यसैले पूर्व योजना र तथ्यमा आधारित निर्णय अनिवार्य हुन्छ। तपाईंको हरेक लगानीले उद्देश्य, समयसीमा, र सम्भावित जोखिमको स्पष्ट खाका बोकेको हुनुपर्छ।

४. अनुशासन पालना गर्नुहोस्: रणनीति स्थिर राख्नुहोस्। सेयर बजारमा अनुशासन भनेको आफ्नो भावनालाई नियन्त्रण गर्ने कला हो। तपाईंले लक्ष्य निर्धारण गर्नुभयो भने त्यसमा अडिनुहोस्, स्टप-लस तोक्नुभयो भने त्यसलाई कार्यान्वयन गर्नुहोस्। धेरैजसो लगानीकर्ता घाटा बढ्दै जाँदा “अहिले बेच्दा घाटा हुन्छ, पछि सुधारिन्छ” भनेर बस्छन्, जसले घाटालाई दुगुना बनाउँछ। अनुशासनले नाफा बढाउँछ, र सबैभन्दा महत्वपूर्ण कुरा घाटालाई सीमित गर्छ।

५.धैर्य राख्नुहोस्: बजार सधैं एकै दिशामा चल्दैन । सेयर बजारले कहिले पनि सीधा रेखामा यात्रा गर्दैन। कहिले उकालो, कहिले ओरालो यही यसको स्वभाव हो। धेरै लगानीकर्ताले छोटो अवधिमा नाफा खोज्ने गल्ती गर्छन्। तर बजारले साँचो मूल्य सधैं समयसँगै उजागर गर्छ। धैर्य भनेको निष्क्रिय बस्नु होइनस बजारको लय बुझ्दै आफ्नो योजनामा स्थिर रहनु हो।

६. मनोवैज्ञानिक परिपक्वता:  भावनाको नियन्त्रण नै बुद्धिमत्ता हो। लगानी केवल अंकगणित होइन, मनोविज्ञान पनि हो। बजारमा डर, लोभ र हल्लाको प्रभाव सबैभन्दा ठूलो हुन्छ। सफल लगानीकर्ता ती भावनालाई नियन्त्रण गर्न जान्दछन्। उनीहरू हल्ला होइन, डाटा पढ्छन्स भीड होइन, रणनीति पछ्याउँछन्।

७. दीर्घकालीन सोच:  अस्थिरताभित्रै अवसर खोज्नुहोस् । नेपालको सेयर बजार अझै परिपक्व हुँदैछ। अस्थिरता नै यसको स्वाभाविक अवस्था हो। तर दीर्घकालीन दृष्टिले हेरियो भने, नेपालजस्ता विकासशील देशहरूमा पूँजीबजारमा विशाल सम्भावना छ । ऊर्जा, बीमा, बैंकिङ, पर्यटन, र उत्पादन क्षेत्र विस्तार हुँदै छन्। यी क्षेत्रमा लगानी गर्नेहरूलाई भबिष्यमा समयले पुरस्कृत गर्नेछ।

निष्कर्ष
सेयर बजारमा सफलता भाग्यको खेल होइन, बानीको परिणाम हो। जो मानिस बहाना बनाउँछ, ऊ असफलतामा अड्किन्छस जो जिम्मेवारी लिन्छ, ऊ सुधारको बाटोमा उक्लन्छ।सेयर बजारमा “यो भयो, त्यो भयो” भनेर दोष दिनेले पूँजी मात्र होइन, अवसर पनि गुमाउँछ।जिम्मेवार, अनुशासित र सकारात्मक सोच भएका लगानीकर्तामात्र दीर्घकालीन सफल हुन्छन्।सेयर बजारमा लाभ त्यहीले पाउँछ, जसले बहाना होइन आत्मविश्वास, निरन्तरता रलगनशीलता रोज्छ। किनभने अन्ततः बजारले भाग्यमानीलाई होइन, तयारी गरेका मानिसलाई पुरस्कृत गर्छ।

(लेखक गुरागाँई  पूँजीबजारका जानकार हुन्)




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।