आइतबार नेप्से परिसूचक ७८.८३ अंक घटेर २५०३.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ५ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०१ प्रतिशत बढेको छ। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको ३७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३६ करोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ४.७९ प्रतिशत घटेको छ भने वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।