गभर्नरका लागि भाडाको घर लिन राष्ट्र बैंकले थप्यो आवेदन दिने समय

Oct 14, 2025 04:18 PM Merolagani



नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडामा लिन लागिएको आवाससम्बन्धी प्रस्तावमा आवेदन दिने म्याद थप गरेको छ। सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै केन्द्रिय बैंकले आवेदन दिने समय कात्तिक १६ गतेसम्म लम्ब्याएको हो।

गभर्नर पौडेलका चितवन र ललितपुर भैंसेपाटीस्थित निवासहरू जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि राष्ट्र बैंकले नयाँ घर भाडामा लिन गत असोज १२ गते सूचना प्रकाशित गरेको थियो। सुरुमा आवेदन दिने म्याद असोज २७ गतेसम्म तोकिएको थियो।

नयाँ सूचनाअनुसार, ललितपुरको बखुन्डोलदेखि भैंसेपाटी क्षेत्रभित्र पर्ने १६ देखि २४ आना जग्गामा बनेको आरसीसी संरचना युक्त घर भाडामा लिन खोजिएको हो। घरमा कम्तीमा १,००० वर्गफुट  क्षेत्रफल, एउटा मास्टर बेडरुमसहित ४ वटा बेडरुम, लिभिङ र डाइनिङ हल, किचन, स्टोररुम तथा सुरक्षाकर्मीका लागि छुट्टै भवन हुनुपर्ने उल्लेख छ।

साथै, कम्तीमा ६ वटा सवारीसाधन पार्किङ गर्न मिल्ने व्यवस्था, सुरक्षित कम्पाउन्डवाल, कालोपत्रे सडकसँग सम्पर्क, बिजुली, ढल निकास र खानेपानीको पूर्वाधारजस्ता सुविधा अनिवार्य गरिएका छन्।

राष्ट्र बैंकले इच्छुक घरधनी तथा एजेन्टहरूलाई तोकिएको मापदण्डअनुसार प्रस्ताव पेश गर्न आह्वान गरेको छ।