राष्ट्र बैंकका अनुसार नेपालको दुई महिनाको शोधनान्तर अवस्था १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा छ । विगत दुई वर्षदेखि नेपालको शोधनान्तर अवस्था सुदृढ हुँदै आएको छ । गत आवको पहिलो दुई महिनामा शोधनान्तर अवस्था १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको थियाे । मुलुकमा भित्रिने र बाहिरिने रकमको फरक नै शोधनान्तर स्थिति हो ।
त्यस्तै चालु आवको दुई महिनामा मुलुकको चालु खाता समेत १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ बचतमा रहेको छ । नेपालको रेमिट्यान्स वृद्धि दर उच्च रहेका कारण वैदेशिक व्यापार घाटामा रहे पनि चालु खातामा बचतमा देखिन गएको हो । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर समेत २ अर्ब २० करोड रुपैयाँ छ भने दुई महिनामा १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
भुक्तानी सन्तुलन बचतमा तथा चालु खाता समेत बचतमा रहँदा नेपालमा अहिले वैदेशिक मुद्राको सञ्चितिले हरेक महिना रेकर्ड बनाइरहेको छ । चालु आवको भदौ मसान्तसम्मको तथ्यांक अनुसार नेपालसँग २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रा सञ्चिति रहेको छ जुन अमेरिकी डलरमा २० अर्ब ४१ करोड रुपैयाँ रहेको छ । यो सञ्चितिले १९.७ महिनाको वस्तु आयात तथा १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । नेपाल राष्ट्र बैंकले साधारणतया ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त वैदेशिक मुद्रा सञ्चिति गर्ने लक्ष्य राखे पनि अहिलेको सञ्चिति लक्ष्य भन्दा एकदमै बढी हो ।
बाह्य अवस्था एकदमै सन्तोषजनक रहे पनि आन्तरिक अवस्था भने त्यति सन्तोषजनक छैन । बैंक तथा वित्तीय संस्थामा निक्षेप गत भदौको तुलनामा साढे १२ प्रतिशतले बढ्दा ऋण प्रवाह भने ७.८ प्रतिशतले मात्रै बढेको देखिएको छ । निक्षेप वृद्धि र ऋण परिचालन बीचको मिसम्याचकै कारण वित्तीय प्रणालीमा तरलता थुप्रिएको छ । बैंकमा तरलता थुप्रिदा निक्षेपको व्याज दर एकदमै न्यून विन्दुमा छ जसको कारण अहिले ऋणको ब्याज दर समेत एकल विन्दुमा आइसकेको छ । एकल विन्दुमा आएको ऋणको ब्याज दरको बाबजुद पनि कर्जाको माग नबढ्नुमा अर्थशास्त्रीहरुले लगानीकर्ताको आत्मविश्वासमा आएको कमीको रुपमा औंल्याउने गरेका छन् ।