
बुधवारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले जानु परेको भएपनि अब फर्किने बेला भएको बताए । सबै मिलेर नेकपा एमाले पार्टी निर्माण गरेको भन्दै अध्यक्ष ओलीले पार्टी निर्माणमा गरेको योगदान स्मरण गरेर मूल घरमा फर्किन नेपालसहितका नेताहरूलाइ आग्रह गरे । समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बसिरहेको भन्दै आफैँले बनाएको पार्टी हुँदाहुँदै आश्रय खोज्दै नहिँड्न आग्रह गरे । एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने समाचार आइरहेका छन् । माओवादी नेताहरुले यसबारे पदाधिकारी बैठकबाटै निर्णय गरेर पार्टी एकताको प्रयास जारी रहेको बताइसेका छन् ।
ओलीले भने, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजो घर छोडेर अन्यत्र जानुभएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु । हिजो उहाँहरु समेत भएर पनि हामीले यो पाटी निर्माण गरेका हौँ । उहाँहरुको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ । विभिन्न कारणले जानुभयो होला, कुनै समय कतै त्यसैमा नअल्झिनुस् । आज समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बस्दैछन् । म कार्यकर्ता साथीलाई भन्न चाहन्छु, तपाईं आफैँले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्दै नजानुस् । कुनै चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजानुस् । यो मजबुत भएको छ, यसलाई कसैले पनि डग्मगाउन सक्दैन । अहिले पनि साढे ६ लाख सदस्य भएको पार्टी हो । २३ वटा महासंघ भएको पार्टी हो ।’