भोटेकोशी जलविद्युत आयोजनाले भन्याे- निःशुल्क सेयर दिने सहमति भएको छैन्

Oct 15, 2025 02:38 PM merolagani



भोटेकोशी जलविद्युत आयोजनाले निःशुल्क सेयर दिन लाग्याे भन्ने बिषयमा कुनै सत्यता नभएकाे बताएकाे छ ।आयोजनाले आज एक  विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे ।

'सर्वप्रथम त दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहान्छ,' विज्ञप्तिमा भनिएकाे छ ।

यस्ताे छ भोटेकोशी जलविद्युत आयोजनाको सेयरबारे प्रेस विज्ञप्ति

२०८२ साल असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड (BKPC) बीच निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम त दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहान्छौ । भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले BKPC को १० (दश) प्रतिशत सेयरको लागि आवेदन दिन अगाडि जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि BKPC ले प्रति सेयर बराबर अंकित मुल्य रु १००।– रहेको सेयर १० (दश) प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनी लाई बिक्रि गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि BKPC ले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहान्छौ ।

निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट १० (दश) प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएकोले यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण सञ्चारमाध्यम लगायत सरोकारवाला निकायलाई हार्दिक अनुरोध गर्दछौ ।