कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशका संशोधन हुँदै, सुझाव संकलन गर्दै प्राधिकरण

Oct 15, 2025 04:45 PM MeroLagani



नेपाल बीमा प्राधिकरणले बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी छलफल तथा अन्तक्रिर्या कार्यक्रम आयोजना गर्यो। कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्था गर्न लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बीमकका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्राधिकरणबाट प्रस्तुत कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ को संशोधन मस्यौदा र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल भएको थियो ।

यसैगरी, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिश सम्बन्धी व्यवस्था र कृषि बीमा रियल टाइम सफ्टवेयर (एएलआईएस) को संचालनको विद्यमान अवस्था, आइपरेका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा बीमकका प्रतिनिधिहरूबाट सुझावहरू लिइएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्न लागेकाले त्यसका लागि वास्तविक रायसुझावहरू दिन आग्रह गरियो।

कार्यकारी निर्देशक सुवेदीले प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको जानकारी दिँदै त्यसका लागि समेत ठोस रायसुझावहरू दिन आग्रह गरे।

साथै, उनले बीमकहरूबाट प्राप्त रायसुझावहरूलाई समेत समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू तथा प्राधिकरणको कृषि बीमा शाखाका कर्मचारीहरू र निर्जीवन बीमा कम्पनीहरूका कृषि विभागका प्रमुखहरूको सहभागिता रहेको थियो।