महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंकमा गएको महासंघको टोलीले राष्ट्र बैकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनासमक्ष उक्त आग्रह गरेको हो ।
महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको साँवा ब्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना, अविरल वर्षा तथा बाढी पहिरोले क्षति पुगेकोले ऋणीहरुलाई समयमै किस्ता बुझाउन समस्या परेको जनाएको हो ।
त्यसकारण ऋणीको समस्यालाई मध्यनजगर गर्दै साँवा ब्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।
उनले मुलुकमा विषम परिस्थितिसँगै नेपालीहरुको महान चाड दशैंको कारण लामो समय सार्वजनिक बिदा पर्न गएको र ऋणीहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन आग्रह गरे ।
भेटमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महासंघका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।