आईपीओ ल्याउन प्रभु स्टील्स गर्यो क्रेडिट रेटिङ्ग सम्झौता

Oct 15, 2025 06:40 PM Merolagani



प्रभु ग्रुप्सको मुख्य लगानीमा स्थापित प्रभु स्टिल्स एण्ड हाईड्रो ईन्भेष्टमेण्ट कम्पनी लिमिटेड र केयर रेटिङ्ग नेपाल लिमिटेड बीच आज क्रेडिट रेटिङ्ग सम्झौता सम्पन्न भएको छ । कम्पनीले आगामी पुस १९ मा हुने वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेसँगै क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सिताराम धिमालले हस्ताक्षर गरे भने केयर रेटिङ्ग नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतआनन्द प्रकाश झाले हस्ताक्षर गरि सो हस्ताक्षर समारोह सम्पन्न गरेका हुन । यो सम्झौता सँगै अब प्रभु स्टिल्सले आफ्नो क्रेडिट रेटिङ्गसम्पन्न गरि धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासनको लागि आवेदन दिनेछ ।

 

यस प्रभु स्टील्स समेतको लगानीमा २५.४ मे.वा. को सुपर आँखुखोला र ३७ मे.वा.को माथिल्लो म्याग्दी गरि दुईवटा हाईड्रो पावर परियोजना तिव्र गतिमा निर्माण भइरहेका छन् । त्यस्तै यस कम्पनीले सोलुखुम्बुमा दोभान खोला जलविद्युत परियोजना ४.२ मे.वा. र मध्य इन्द्रावती खोला ६.६५ मे.वा. जलविद्युत परियोजना सिन्धुपाल्चोकमा निर्माण गर्दैछ । यस कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु जलविद्युत विकास लिमिटेडले विभिन्न जिल्लाहरुमा ३ वटा क्रमशः, इन्द्रावती खोला ९.३२५ मे.वा. जलविद्युत परियोजना, राहगाढ ९.६२ मे.वा.जलविद्युत परियोजना, लिदिन खोला ४.१२५ मे.वा. जलविद्युत परियोजना निर्माण गर्न कार्य प्रारम्भ गरेको जनाएको छ ।

प्रभु स्टील्स एण्ड हाईड्रो ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडको ठूलो लगानी रहेको सिद्धार्थ केबलकार गत भाद्र १९, २०८१ देखी बुटवलमा संञ्चालित छ । यस कम्पनीले माथिल्लो म्याग्दि जलविद्युत आयोजनामा ३७ मे.वा.मा ४० प्रतिशत शेयर लगानी गरेको छ । यो आयोजना ४५ प्रतिशत सम्पन्न भै सकेको छ । कम्पनीले सार्वजनिक शेयर निष्कासन आईपीओबाट संकलन हुने रकमले सहायक कम्पनीका जलविद्युत आयोजनामा लगानी गर्ने र निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्ने लक्ष्य रहेको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सिताराम धिमालले बताए ।

 

 

यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भैसकेको छ भने यो कम्पनी ऋण मुक्त कम्पनी रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित कम्पनी रहेको छ । कम्पनीले गत असोज ९ गते गरेको विशेष साधारण सभाबाट २०८२।०६।०१ सम्म कायम शेयरधनीहरुको लागि १ः१.३४ का दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरि आउँदो कार्तिक ९ गतेबाट हकप्रद शेयर निष्काशन खुल्ला गर्ने सूचना प्रकाशित समेत गरि सकेको छ । अभियान राष्ट्रिय दैनिकमा असोज २४ मा प्रकाशित सूचना अनुसार कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न यहि पुसमा साधारण सभा गरि धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।