यो तिहारमा लक्ष्मी भगाउने होइन भित्र्याउने, यी १० तरिकाले बचत गर्नुहोस् पैसा

Oct 20, 2025 06:00 AM Merolagani



पर्व भनेको उज्यालो, खुशी, उत्सव हो। हामी चाडपर्वहरूमा उदारतापूर्वक पैसा खर्च गर्छौं र त्यसो गर्नुपर्छ पनि। चाडपर्व वर्षमा एकपटक आउँछ र तलब हरेक महिना आउँछ।

तर पैसा खर्च गर्नमा हामी यति लापरवाही हुनुहुँदैन कि हाम्रो ‘खल्ती’ नै बिरामी होस्, किनकि एक पटक ‘खल्ती’ बिरामी भयो, यसलाई निको हुन धेरै महिना लाग्न सक्छ।

त्यसोभए, के आफ्नो बजेटमा रही पूर्ण खुशीका साथ चाडपर्व मनाउन सक्दैनौँ?

आउनुहोस्, आज जानौ यस्ता १० टिप्स जसबाट हामीले आफ्नो बजेट नबिगारी पूर्ण रुपमा चाडपर्वको मज्जा लिन सक्छौँ।

चाडपर्वको लागि अग्रिम आरडी गर्नुहोस्

चाडपर्वको समयमा सँगै आउने ठूला खर्चहरूको लागि, पहिलो नै आरडी गर्नु बुद्धिमानी निर्णय हुन सक्छ, अर्थात् रिकरिङ्ग डिपोजिट खाता खोल्ने। खाताबाट महिनामा एक हजार रुपैयाँ काटियो भने त्यो रकम याद हुँदैन, तर एकैपटक १० हजार रुपैयाँ खर्च भयो भने त्यो गाह्रो हुन पुग्छ।

तपाईले आरडीमा जम्मा गर्दै आउनुभएको पैसामा ब्याज पनि पाउनुहुनेछ र एकै चोटि धेरै भार पर्ने छैन। यदि तपाईले यो सिजन आरडी गर्न सक्नु भएको छैन भने, अब अर्को वर्षको लागि तयारी गर्नुहोस्।

आवेगपूर्ण किनमेलले लक्ष्मी आउँदिनन्, जान्छिन्

पहिले कुनै योजना बनाउनु भएको छैन, तर चाडपर्वको चहलपहलमा बजार जाँदा एक्कासी केही मनपर्छ, जसले हाम्रो बजेट धेरै महिनासम्म बिगार्न सक्छ। जस्तै क्यामेरा, ठूलो स्क्रिन टिभी, गहना आदि। वास्तवमा, धेरै पटक हाम्रो इच्छाको आवेग यति बलियो हुन्छ कि हामी सोच्दै नसोची त्यस्ता वस्तु किन्छौं जुन हामीलाई न आवश्यक छ, न त बजेट नै। यस्तो बानीले लक्ष्मी आउँदिनन्, बरु घरमा भएकी लक्ष्मी जान्छिन्।

घरमै बनाउनुहोस् मिठाई र परिकार, पैसा र स्वास्थ्य दुबै स्वस्थ रहनेछ

चाडपर्वमा धेरै मिसावटको खबरहरु सुनिन्छ। यस्तो अवस्थामा महँगो मिठाई र नास्ताले धेरै पैसा खर्च मात्रै गर्दैन, स्वास्थ्यलाई पनि हानि पुर्याउँछ।

हामीले आफुले सकेजति परिकार घरमा बनाउने कोसिस गर्नुपर्छ। अहिले तपाईले युट्युबमा सबै परिकार बनाउने राम्रा भिडियोहरू पाउन सक्नु हुन्छ। यसले तपाईँको छुट्टीको केहि रचनात्मक प्रयोग हुनेछ र तपाईँको स्वास्थ्य र ‘खल्ती’ दुबै स्वस्थ रहनेछ।

बजेट अनुसार खर्च गर्ने

चाडपर्व आउनुअघि कति खर्च गर्ने भन्ने बजेट बनाउनुहोस्। बजेटको आधार तपाईको बैंक ब्यालेन्स, तलब, बोनस, चाडपर्वको लागि गरिएको कुनै पनि डिपोजिट हुनसक्छ। यसबाट तपाईँ भौतारिनु हुन्न र बुद्धिमानीपूर्वक खर्च गर्नुहुनेछ।

नयाँ सामान किन्न चाहनुहुन्छ भने फेस्टिभ सेलमा मात्रै किन्नुहोस्

हामीले वर्षभरि किन्नु पर्ने अधिकांश ठूला वस्तुहरू दशैं–तिहारमा मात्रै किन्छौं। त्यसैले अफलाइन पसलसँगै अब अनलाइन एप भएकाहरूले पनि दशैं तिहारअघि आफ्ना पसललाई दुलहीजस्तै सजाएर राख्छन्। यस समयमा ठूलो अनलाइन सेलहरू आउछन्। तसर्थ, यदि तपाईँ यस समयमा कुनै पनि वस्तु किन्न चाहनुहुन्छ भने, सेलमा मात्र खरिद गर्नुहोस्। धेरै पैसा बचत हुनेछ।

स–साना खर्चको लागि धेरै पैसा खर्च हुन्छ

चाडपर्वमा हामी इलेक्ट्रोनिक्स, कार, फर्निचरजस्ता खरिदमा ध्यान दिन्छौँ तर कपडा, सजावट, मिठाई जस्ता स–साना खर्चमा खासै ध्यान दिँदैनौँ। यस्तो अवस्थामा धेरै पटक हामीले यी साना खर्चलाई नियन्त्रण गर्दैनौं र विस्तारै खर्च बढेर बजेटको ठूलो हिस्सा गुमाउने गर्छौं।

तसर्थ, हरेक साना नयाँ खर्च गर्नु अघि, हामीले आफैसँग प्रश्न गर्नुपर्छ कि यो खर्च आवश्यक छ कि छैन? एउटै काम कम खर्चमा गर्न सकिँदैन?

एक्सचेञ्ज अफरमा ध्यान दिनुहोस्

चाडपर्वमा नयाँ टिभी, ल्यापटप वा अन्य इलेक्ट्रोनिक सामान किन्ने हो भने पुरानोलाई स्टोर रुममा नफाल्नुहोस्। अनलाइन वा अफलाइन सामान खरिद गर्दा, पुरानो सामानको एक्सचेञ्ज अफर हेर्नुहोस् र पुरानो सामानहरू फिर्ता गर्नुहोस्। यसले तपाईँको पैसा बचत हुनुका साथै घरमा नयाँ वस्तुहरूको लागि पर्याप्त ठाउँ पनि हुनेछ।

क्रेडिट कार्डबाट खरिद गर्दा सतर्क रहनुहोस्

चाडपर्वको समयमा क्रेडिट कार्डहरूमा धेरै अफरहरू आउछन्। तपाईँले पनि अफरको फाइदा लिनुपर्छ। हामी केही सामानहरु किस्तामा पनि खरिद गर्छौं। त्यतिसम्म त ठिक छ, तर चाडपर्वको चहलपहलमा अल्झिएर थप किस्ता तिर्दा खर्च धान्नै मुस्किल हुने गरी धेरै किनमेल गर्नु हुँदैन।