यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM mero lagani



भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ । 

यस्तो उदाहरण नेपालको राजनीतिमा नै एक दुई होइन, दर्जनौ पटक देखिएका छन् ।

र, त्यसको पछिल्लो दृष्टान्त बन्न थालेका छन्- काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह -बालेन) र अधिवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्याल ।

केही दिन अघिसम्म यी दुईबीचको दोस्तीलाई ‘अकाट्य सत्य’ मानिन्थ्यो । बालेनले जे बोल्छन्, त्यसमा अर्यालको साथ सहयोग रहेको मानिन्थ्यो भने अर्यालका हरेक कदमहरुको पछाडि बालेन रहेको विश्वास गरिन्थ्यो । र, हरेक घटनाक्रम र उनीहरुबीचको कसिलो सम्वन्धले त्यस्लाई पुष्टि नै गरिरहेको थियो ।

 

किनकी बालेनले आफू महानगर प्रमुख हुने वित्तिकै अर्याललाई महानगरपालिकाको कानुनी सल्लाहकार बनाएका थिए । र, जेनजी विद्रोहपछि उनले बालेनकै प्रतिनिधिको हैसियतमा राष्ट्रपति, सेना, जेनजीका प्रतिनिधिहरुसँग मात्र होइन संचारमाध्यमहरुसँग पनि ‘डील’ गरिरहेका थिए । र, उनकै प्रस्तावमा प्रधानमन्त्री सुशीला कार्कीले अर्याललाई गृहमन्त्री बनाएको पनि कतैबाट छिपेको छैन ।

तर, केही दिन यता बालेन र गृहमन्त्री अर्यालको सम्वन्धले अर्कै मोड लिइसकेको छ । उनीहरु दुवैजनालाई नजिकबाट चिन्नेहरुका अनुसार अब उनीहरुबीचको ‘दोस्ती’ समाप्त भएको छ । र, क्रमिक रुपमा त्यो शत्रुतामा परिणत हुँदैछ । त्यसको लागि उनीहरु दुवैजनाले खुला रुपमा केही बोलेका छैनन् । तर, अप्रत्यक्ष रुपमा भने त्यसलाई स्वीकार गरेको देखिन्छ । गृहमन्त्री अर्यालले आफूलाई सामाजिक संजालबाट ‘बुलिङ’ भइरहेको र नभएका विषयहरुलाई झिकेर चरित्र हत्या भइरहेको गुनासो गरिरहेका छन् । र, उनको त्यो संकेत एमाले कांग्रेससहितका विपक्षी राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुप्रति लक्षित नभई बालेन साह र उनको टीमप्रति लक्षित रहेको विश्लेषकहरुको ठम्याई छ ।

उता, बालेन भने यतिबेला गृहमन्त्री अर्याललाई नहटाए सरकार नै ढाल्ने चेतावनीसहित प्रधानमन्त्री कार्कीलाई दिइरहेको बताइन्छ । बालेन कुनै पनि हालतमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकसहितका केही उच्च नेताहरुलाई पक्राउ गर्नको लागि प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई दबाब दिइरहेका छन् । त्यो अनुसार गृहमन्त्रीले उनीहरुलाई पक्राउ नगरेपछि चिढिएका बालेनले यसबीचमा प्रधानमन्त्रीलाई भेटेरै गृहमन्त्री हटाउन दबाब दिएको बताइएको छ ।

स्रोतका अनुसार मेयर साहले तीन दिनअघि बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर गृहमन्त्री अर्याललाई हटाउन दबाब दिएका थिए । तर, कार्कीले अहिले नै गृहमन्त्री हटाउँदा झन भद्रगोल अवस्था सृजना हुनसक्ने भन्दै बालेनको दबाब अस्वीकार गरेकी थिइन । प्रधानमन्त्री कार्कीले पनि गृहमन्त्री अर्यालकै भाषामा कानुन बमोजिम चल्नुपर्ने बाध्यतामा सरकार रहेको र आवेशमा आएर गरिने निर्णयले थप समस्या सृजना नहोस भन्नेतर्फ सरकार सचेत रहेको जवाफ दिएकी थिइन । सरकार ओली, लेखकलगायतका नेतामाथि जाँचबुझ आयोगको सिफारिसपछि मात्र कारबाही गर्न सकिने अडानमा छ भने बालेनको टीम र जेनजी आन्दोलनका केही नेताले तत्काल पक्राउ नगरे गृहमन्त्रीले राजीनामा दिनुपर्ने भनिरहेका छन् ।

बालेनले प्रधानमन्त्री कार्कीलाई भेटेलगत्तै गृहमन्त्री हटाउने चर्चा र उनकाविरुद्ध एमआरआर जेनजीकै एउटा समूहले अभियान थालेको छ ।

‘कायर गृहमन्त्री तुरुन्त राजीनामा गर, तिम्लाई गृहमन्त्री बनाउन ७५ जनाले बलिदान दिएको होइन’ भन्दै बालेन निकट व्यक्तिहरुले गृहमन्त्री विरुद्ध सामाजिक संजालमा आक्रोश पोखिरहेका छन् ।

उता, बालेनले व्यवसायी दुर्गा प्रसाईलाई पनि तत्काल पक्राउ गर्न दबाब दिइरहेको गृहमन्त्री निकट स्रोतले जानकारी दिएको छ । पछिल्लो समय प्रसाईले आफ्नो आलोचना गर्न थालेपछि आफ्नो लोकप्रियता घट्न थालेको महसुस गरेर मेयर शाहले प्रसाईलाई पनि पक्राउ गर्न दबाब दिइरहेको बताइएको छ । पछिल्लो पटक बालुवाटारमा भएको दलका नेतासँगको छलफलमा गृहमन्त्री अर्यालले दुर्गा प्रसाईको नाम नलिई उनीमाथि अपराधीलाई गरिने व्यवहार गर्ने अवस्था आउन सक्ने बताएका थिए ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।