नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

Nov 24, 2025 03:10 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ५०.४४ अंक बढेर २६५०.६६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आइतबार ७ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको ७९ हजार ७१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माबिलुङ्ग इनर्जीको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.४४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २४ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।