विद्या भण्डारीको साथ पाएका ईश्वर पोखरेलद्धारा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

Nov 25, 2025 06:19 PM mero lagani



नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । उनलाई पूर्व राष्ट्पति विद्या भण्डारीको साथ रहेको छ । एमाले महाधिवेशन यही महिना काठमाडाैंमा हुँदैछ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आगामी अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्। पोख्रेलले जारी गरेको वक्तव्यमा भनिएको छ — ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु ।’

विज्ञप्तिमा अगाडि भनिएको छ — पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदैछ । उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ्य, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु ।

पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उनले बताएका छन् ।

पोखरेलले अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि ओलीलाई आग्रह गरेका छन् । पार्टी सचिवालय बैठकमा पनि पोखरेलले अध्यक्ष बन्ने आफ्नो तयारीबारे नेतृत्वलाई अवगत गराइसकेका थिए ।

पोखरेलले पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका नेता–कार्यकर्ताबाट आएका आग्रह तथा सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गर्ने निर्णय गरेकाे बताएका छन्  । साथै, नेतृत्व हस्तान्तरणका विषयमा अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा आफूले राखेको पोखरेलले उल्लेख गरेका छन्।

यद्यपि, मंसिर अन्तिम साता तय भएको एमालेको एघारौँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष ओली भने नेतृत्व नछोड्ने तयारीमा रहेको बताउँदै आएका छन् । तेस्रोपटक अध्यक्ष बन्न पार्टी विधानसमेत संशोधन गरेका ओलीलाई जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक वातावरणले नेतृत्व हस्तान्तरण गर्नैपर्ने दबाब सिर्जना भएको पोखरेलको तर्क रहँदै आएको छ।