तर, सधै त्यस्तो नहुँदो रहेछ । कतिपय अवस्थामा कम्पनीहरुले सरकारी स्तरबाटै आएका प्रस्तावहरुलाई पनि स्वीकार गर्न नसक्दा रहेछन् वा हच्किदा रहेछन् । अहिले अफगानिस्तान सरकारले गाडी खरिदको लागि जापानको प्रख्यात गाडी उत्पादक कम्पनी टोयोटासँग गरेको प्रस्तावलाई उक्त कम्पनीले अस्वीकार गरेर धेरैलाई आश्चर्यमा पारेको छ ।
टोयोटा कम्पनीले आफ्नो प्रस्ताव अस्वीकार गरे पनि तालिवान नेतृत्वको अफगान सरकारले उक्त कम्पनीलाई आफूलाई आवश्यक पर्ने गाडीहरु बिक्री गर्नको लागि दबाब दिइरहेको छ । अर्थ राजनीतिक क्षेत्रका विश्लेषकहरु अहिले अफगान सरकारले टोयोटा गाडी खरिद गर्न गरिरहेको प्रयास र उक्त कम्पनीले बिक्री गर्न अस्वीकार गरेको घटनालाई ‘टोयोटा युद्ध’ भन्दै यो विश्व बजारकै नौलो खालको ‘युद्ध’ भएको विश्लेषण गरिरहेका छन् ।
वास्तवमा यो ‘युद्ध’ के हो र त्यो कसरी शुरु भयो ? त्यसको पृष्ठभूमी पनि रोचक छ ।
‘टोयोटा युद्ध’ के हाे ?

सन् १९७७ मा चाड र लिबियाबीचको युद्धलाई टोयोटा युद्ध भनेर चिनिन्छ । युद्धको क्रममा दुवै देशले हाइल्याक्स र ल्याण्ड क्रूजरसहित टोयोटा पिकअप ट्रकहरू व्यापक रूपमा प्रयोग गरेकोले ती दुई देशबीचको युद्धलाई ‘टोयोटा वार’ भनिन्छ ।
त्यो घटनाबाट झस्किएकोले नै टोयोटा कम्पनी अहिले अफगानिस्तानलाई गाडी विक्री नगर्ने अडानमा रहेको सप्ष्ट हुन्छ ।
अफगानिस्तानमा सरकार परिवर्तन भएको कुरा राष्ट्रपति, अदालत वा मन्त्रालयहरूबाट मात्र होइन, नयाँ सरकार आएपछि सडकमा रहेका विभिन्न मोडल र ब्रान्डका सवारी साधनहरूबाट पनि थाहा हुन्छ ।
अफगानिस्तानमा शक्तिको हस्तान्तरणले सधैँ सेनाले प्रयोग गर्ने सवारी साधनहरूमा प्रभाव पारेको छ।
विगतमा, अफगानिस्तानमा सोभियत र अमेरिकी सेनाको संक्रमण र उपस्थितिको समयमा देशको सेनाले विभिन्न मोडेलका धेरै कम्पनीहरू र सवारी साधनहरू प्रयोग गऱ्यो।
करिब ३ वर्ष अघि अफगानिस्तानमा तालिबानको सरकार बनेपछि अमेरिकी कम्पनी रेन्जर सवारी साधनहरूबाट छुटकारा पाउन र सवारीका अन्य मोडेलहरू प्रयोग गर्न चाहन्छ । त्यसको लागि उस्को पहिलो रोजाईमा टोयोटा कम्पनीका गाडीहरु परे । त्यहीअनुसार सरकारकै तर्फबाट नयाँ कार किन्नका लागि टोयोटा मोटर्सलाई सम्पर्क गरियो । कम्पनीका निर्देशक अहमद शाकिर आदिलले अफगान सरकारले पछिल्लो पटक करिब दुई महिना अघि सेप्टेम्बर २७ तारिखमा औपचारिकरुपमा आफ्नो देशलाई ठूलै संख्यामा गाडीहरु बिक्री गर्न सम्पर्क गरेका बताए ।
त्यसअगाडि र त्यसपछाडि पनि विभिन्न माध्यमबाट आफूलाई गाडीहरु बिक्री गर्नको लागि टोयोटासँग अफगान सरकारले अनुरोध गर्दै आएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ‘अफगान सरकारले ठूलै संख्यामा हाम्रो कम्पनीका गाडीहरु खरिद गर्ने प्रस्ताव गरेका छन् । तर हामीले ती प्रस्तावहरु अस्वीकार गरेका छौं’ आदिलले भनेका छन् ।
टोयोटा कम्पनीले तालिबान र अलकायदा जस्ता आतंकवादसँग जोडिएका संस्थाहरुले आफ्ना सवारी साधन प्रयोग गरुन भन्ने नै नचाहेको बताइएको छ । त्यसैले कम्पनीले तालिबान सत्तामा भए पनि उनीहरूलाई कार बेच्न अस्वीकार गरेको छ।
टोयोटाले अफगानिस्तानमा आफ्नो कुनै प्रतिनिधि नभएको र त्यहाँ सवारी साधन निर्यात नगर्ने बताएको छ।
‘यो हाम्रा उत्पादनहरूका लागि सबैभन्दा खराब विज्ञापन हो, तर यसले यो पनि देखाउँछ कि तालिबानले अन्य ग्राहकहरू जस्तै भरपर्दो र टिकाउ उत्पादनहरू खोजिरहेका छन्, न्युयोर्क टोयोटाका प्रवक्ता वेड होयटलले भनेका छन् । उनले आफ्नो कम्पनीका सवारी साधनहरुबाट कुनै पनि किसिमको आतंकवादीहरुलाई सहयोग नपुगोस भन्ने कम्पनीको नीति रहेको र अफगानिस्तानको तालिवान सरकारलाई आतंकवादीकैरुपमा हेरिएकोले गाडीहरु बिक्री नगर्ने नीति लिएको स्पष्ट पारे ।
कम्पनीले त्यस्तो प्रतिकृया सार्वजनिक गरेपछि तालिबान सरकारको आन्तरिक मन्त्रालयले अमेरिकी निर्मित फोर्ड रेन्जर सवारी साधनलाई अन्य सवारी साधनहरूसँग प्रतिस्थापन गर्ने निर्णय गर्दै त्यस्को एउटा भरपर्दाे विकल्प जापानी कम्पनी टोयोटाको कार हुन सक्ने ठानिएको तर त्यही नै अन्तिम विकल्प नभएको स्पष्टीकरण दिएको छ । ‘हाम्रो लागि उपयुक्त गाडी टोयोटा हो । त्यसमा पनि टोयोटाको हाइल्याक्स मोडल सबैभन्दा राम्रो विकल्प हो भन्ने लागेको छ । त्यसैले सरकारले टोयोटासँग गाडी खरिदको प्रस्ताव गरेको हो । तर, संसारमा अरु विकल्प पनि छन्’ तालिबान सरकारको आन्तरिक मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ । उनका अनुसार अमेरिकी कम्पनीहरुले बनाएका गाडीहरु भने नचढ्ने सरकारले निर्णय गरिसकेको छ ।
यसअघि अमेरिकी र पश्चिमी सेनाद्वारा समर्थित सरकारहरूले विगत दुई दशकदेखि अफगानिस्तानमा अमेरिकी निर्मित रेन्जर सवारी साधनहरू व्यापक रूपमा प्रयोग गर्दै आएका थिए । त्यतिबेला अमेरिकी कम्पनी एएमएसलाई अफगानिस्तानमा सवारी साधन मर्मत र मर्मत सम्भार गर्ने सम्झौता दिइएको थियो ।
त्यतिबेला ल्याइएका अमेरिकी गाडीहरु अहिले पनि अफगानिस्तानको सडकमा गुडिरहेका छन् । तर, सरकारले नै प्रयोग नगर्ने निर्णय गरेकोले ती गाडीहरुको प्रयोग ह्वात्तै घटेको छ । अमेरिकी गाडीहरुको मर्मत गर्ने ग्यारेजहरु नै अधिकाँश बन्द भएको र मिस्त्रीहरु विदेश पलायन भएको विभिन्न रिपोर्टहरुले देखाएका छन् । अमेरिकाले गाडीहरुमा विशेष प्रविधि जडान गरेर आफ्नो देश र सरकारको जासुसी गर्न सक्ने आंशकाले अमेरिकी कम्पनीहरुबाट निर्मित सवारी साधनहरु प्रयोग नगर्ने निर्णय गरिएको हुन सक्ने आंशका गरिएको छ । यद्धपि सरकारी अधिकारीहरुले यसबारेमा कुनै प्रतिकृया दिएका छैनन् ।
त्यसमाथि अमेरिकी सवारी साधनहरूको स्पेयर पार्ट्स सहजरुपमा उपलब्ध नहुनु र तुलनात्मकरुपमा महंगो पनि हुने भएकोले तालिबान सरकारले अमेरिकी कम्पनीका गाडीहरुलाई विस्थापन गर्ने नीति लिएको हुनसक्ने आशंका गरिएको छ ।
टोयोटा कम्पनीले आफूलाई आतंकवादीको श्रेणीमा राख्दै गाडीहरु नबेच्ने बताएपछि अब अफगान सरकारले के गर्छ भन्ने स्पष्ट छैन । तर, उस्ले ठुलो सङ्ख्यामा टोयोटाकै सेकेन्ड ह्यान्ड सवारी साधनहरू आयात गर्ने सम्भावना रहेको बताइएको छ । अफगानिस्तानमा अधिकांश सेकेन्ड ह्यान्ड सवारी साधनहरू दुबई र इरानबाट आउने गर्छन । अहिले अफगानिस्तानमा प्रयोगमा रहेका टोयोटाका प्रायः सबै जसो गाडीहरु त्यसरी नै भित्रिएका हुन् ।
टोयोटा कम्पनीले विभिन्न देशका सशस्त्र समूहहरूले प्रयोग गर्ने आफ्ना सवारी साधनहरू अनौपचारिक वा सेकेन्ड ह्यान्ड च्यानलहरूमार्फत तस्करी गरिएको भन्दै त्यसबाट आफू दुखित भएको बताएको छ । टोयोटाले आफ्ना कारहरू सिरियामा पठाउँदैन र लिबिया र इराकमा आफ्ना उत्पादनहरूसँग परिचित ग्राहकहरूलाई मात्र बेच्न जोड दिन्छ । त्यसको लागि कम्पनीले ती देशहरुमा कार किनेपछि कम्तिमा एक वर्षसम्म उसले कसैलाई बिक्री गर्न र भाडामा दिन नपाउने शर्तहरुमा पनि लागू गरेको छ ।
बलियो इन्जिन, पाहाडी र मरुभूमि भूभाग र दुर्गम सडकहरूमा ड्राइभ गर्ने क्षमता, कम इन्धन खपत, स्पेयर पार्ट्सको सजिलो उपलब्धता र तुलनात्मकरुपमा सस्तो मूल्य टोयोटा कम्पनीका मुख्य विशेषताहरू हुन् । त्यहीकारण विश्वभर नै यसको माग बढी छ । विभिन्न देशहरुबीच हुने युद्धहरुमा समेत टोयोटा कम्पनीका गाडीहरु अत्यधिक मात्रामा प्रयोग हुने गर्छन् ।