किड्जी प्रि–स्कुलको भैँसेपाटीमा वाकाथन कार्यक्रम

Nov 26, 2025 04:52 PM Merolagani



ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि–स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवर्द्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ । भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त वाकाथनमा स्कुलका बालबालिकाहरू, अभिभावक र शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य लिएको थियो । बढ्दो डिजिटल प्रयोगको अवस्थालाई न्यूनीकरण गर्न र बालबालिकाको स्वास्थ्यलाई थप सहयोग पुर्याउने उद्देश्यका साथ उक्त र्यालीको आयोजना गरिएको विद्यालयकी को–अर्डिनेटर सागरिका भण्डारीले बताइन् ।

 

उनले सहभागीलाई सम्बोधन गर्दै, वाकाथनको मुख्य उद्देश्य बालबालिकाको समग्र विकास, स्वास्थ्य सहयोग, शारीरिक सक्रियता तथा स्क्रिन समय कटौती रहेको बताइन् । बालमैत्री, सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता भएको भन्दै उनले यस किसिमका गतिविधिले बालबालिकालाई आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन सहयोग गर्नेमा जोड दिइन्। प्रि–स्कुलले गरेको उक्त कार्यक्रमलाई अभिभावकहरुले प्रशंसा गर्दै बालबालिकाको दिनचर्यालाई पुनर्विचार गर्न प्रोत्साहित गरेको बताइन् ।