ट्रम्पले युक्रेन शान्ति योजनालाई अन्तिम रूप दिन मस्कोमा राजदुत पठाए

Nov 27, 2025 11:52 AM mero lagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकटमा शान्ति सम्झौतालाई अन्तिम रूप दिने आशामा आफ्ना विशेष दुत स्टीव विटकफलाई मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न निर्देशन दिएको बताए । यस शान्ति योजनालाई अन्तिम रूप दिने आशामा आफूले विशेष दुत स्टीव विटकफलाई मस्कोमा राष्ट्रपति पुटिनसँग भेट्न निर्देशन दिएको बताउँदै उनले सोही समयमा सेना सचिव डान ड्रिस्कोलले युक्रेनीहरूसँग भेट गर्ने पनि बताए ।

संयुक्त राज्य अमेरिकाले मस्यौदा गरेको मूल २८–बुँदे शान्ति योजनालाई दुवै पक्षबाट थप इनपुटसहित राम्रोसँग मिलाइएको बताए । असहमतिका केही बुँदाहरू मात्र बाँकी रहेको उनको भनाइ छ । ट्रम्पले चाँडै पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न उत्सुक रहेको पनि बताए । अमेरिकाले प्रश्ताव गरेको २८ बुँदे शान्ति योजना गत हप्ता अनावरण गरिएको थियो ।

 

यसको सार्वजनिक भएपछि संयुक्त राज्य अमेरिका, युक्रेन र धेरै युरोपेली देशका प्रतिनिधिहरूले जेनेभामा योजनाको बारेमा छलफल गर्न भेटेका थिए । अमेरिकी सेनाको एक विज्ञप्तिअनुसार सोमवार र मंगलवार अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलले अबुधाबीमा रूसी अधिकारीहरूसँग मस्यौदामा वार्ता गरेका छन् ।