नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न भएको यो दोस्रो पटक हो। नेपाल गत वर्ष पनि ‘डबल बी माइनस’को कन्ट्री रेटिङ पाएको थियो ।

नेपालले प्राप्त गरेको उक्त रेटिङ असाध्यै राम्रो पनि होइन, तर सबैभन्दा खराब पनि होइन। लगातार दोस्रो पटक आफ्नो रेटिङलाई स्थिर राख्न सक्नु नै महत्त्वपूर्ण हो। अहिलेको अवस्थामा पनि नेपालले आफ्नो रेटिङलाई स्थिर राख्न सक्नुलाई उपलव्धि नै मान्नु पर्ने विज्ञहरूको भनाई छ।“सबैभन्दा पहिले त हाम्रो मुलुकमा लगानी गर्न आउनु पूर्व लगानीकर्ताले मुलुकको रेटिङ हेर्ने गर्छन्। जुन रेटिङ यस अघि थिएन, अहिले कम्तीमा रेटिङ हुन थालेको छ। यो नै मुलुकको उपलब्धि हो। अर्को तर्फ रेटिङले लगानीको वातावरण बढाउन टेवा दिन्छ। अर्थतन्त्रमा जति स्थायित्व वृद्धिका कुरा आउँछन् त्यति नै शेयर बजार विश्वासिलो लगानीयोग्य हुन्छ। रेटिङ नहुँदा लगानीकर्ताको चासो पनि कम हुन्छ। लगानीकर्ताको मनोभाव पनि कमजोर हुन्छ। त्यसैले अहिलेको यो रेटिङले शेयर बजारमा निक्कै महत्त्वपूर्ण हुन्छ” नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले मेरो लगानीसँग भने।
‘फिच क्रेडिट रेटिङ कम्पनी’ले समग्रमा नेपालको क्रेडिट प्रोफाइलले कम ऋण, बलियो बाह्य तरलता र जलविद्युत् सम्भावनाले थेगिएको छ, तर राजनीतिक अनिश्चितता र कमजोर संरचनात्मक पक्षले दबाब दिइरहेको जनाउँछ।
नहुनु भन्दा क्रेडिट रेटिङ हुनु आफैमा राम्रो हो। अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले हेर्ने बेन्चमार्क नै क्रेडिट रेडिङ हो भन्दा फरक पर्दैन। त्यसकारण लगानीकर्तालाई लगानीको लागि आकर्षित गर्न अझै अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने रेटिङले निक्कै राम्रो भूमिका खेल्छ। जब मुलुकमा लगानी बढ्ने अवस्था हुन्छ त्यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ। जब अर्थतन्त्रका सकारात्मक भूमिका देखिन थाल्छ। तब पूँजी बजारलाई पनि त्यसले राम्रो गर्ने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए।
तर यसै बिचमा केही विज्ञ भने फरक मत राख्छन्। समग्रमा कन्ट्री रेटिङ मुलुकको बेन्चमार्क कायम गर्न सहयोग गर्ने भएपनि त्यसले शेयर बजारलाई तत्कालै खासै फरक नपार्ने एक विज्ञले बताए। उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई शेयर बजारमा खुला गरिएको भए त्यसले तुरुन्तै रियाक्ट गर्न सक्थ्यो। अन्तर्राष्ट्रिय बजारमा जस्तो नेपालको शेयर बजारमा एफआइआइ(फोरेन इन्टिचुसनल इन्भेष्टर )ले पनि लगानी गर्न पाउने भएको भए अहिले आएको कन्ट्री रेटिङले तुरुन्तै शेयर बजारमा रियाक्ट गर्ने थियो। विदेशी लगानीकर्ताले रेटिङ हेरेर लगानी गर्ने कि नगर्ने भनेर निर्णय गर्ने थिए। जसले शेयर बजारको सूचकमा फरक पार्ने थियो। तर अहिले शेयर बजारको सूचकलाई केही फरक पारेको छैन।
अर्कोतर्फ दोस्रो बजारमा सरकारी ऋण पत्रको उल्लेख्य कारोबार हुने भएको भए पनि त्यसले तुरुन्तै फरक पार्ने थियो। कन्ट्री रेटिङ राम्रो आउँदा सरकारी ऋण पत्रको माग बढ्ने थियो। तर नेपालमा सरकारी ऋणपत्रको कारोबार नै नगण्य छ। त्यसले गर्दा रेटिङले दोस्रो बजारमा कुनै फरक नपार्ने ती विज्ञको तर्क छ।