गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो ।
‘मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरो हेर्दा लेथल र ननलेथल दुई प्रकारका हतियारहरूमध्ये ननलेथल पर्याप्त भयो भने घातक हतियारहरू प्रयोग गर्न नपर्ने अवस्था आउने रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने ।
गृहमन्त्री अर्यालका अनुसार आत्मरक्षाका लागि समेत घातक हतियार प्रयोग गर्नुपर्ने अवस्थाले मानवीय क्षति गराउने भएकाले गैरघातक हतियार आवश्यक भएको निष्कर्षमा सरकार पुगेको हो ।
‘गैरघातक हतियार नै भएन भने आफ्नो आत्मरक्षा होस् अथवा आफूले संरक्षण गर्नुपर्ने सुरक्षा दिनुपर्ने सम्पत्तिको रक्षाको लागि होस् उहाँहरूले घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था आउने रहेछ र त्यतिखेर मानवीय क्षति हुने अवस्था धेरै हुनेरहेछ,’ गृहमन्त्रीले भने ।
यही निष्कर्षका साथ सरकार गैरघातक हतियारको खरिद गर्नुपर्ने निष्कर्षमा पुगेको हो । के कति गैरघातक हतियार खरिद गरिँदैछ र सहयोगका लागि कुन–कुन देशसँग समन्वय भएको छ भनेर भने उनले केही खुलाएनन् ।
गृहमन्त्री अर्यालका अनुसार खरिद गरेर र वैदेशिक सहायताबाट गैरघातक हतियारको जोहो गर्ने र आगामी दिनमा घातक हतियार प्रयोग कम गर्ने नीतिमा सरकार अगाडि बढ्नेछ ।