चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुने गरी काम गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

Nov 28, 2025 03:03 PM Merolagani



प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई पूर्णतः हिंसामुक्त र घाइतेरहित बनाउन नेपाली सेनालाई कडा निर्देशन दिएकी छिन्। नेपाली सेनाको मुख्यालय जंगीअड्डाको निरीक्षण भ्रमणपछि उनले सुरक्षा तयारीबारे जानकारी लिएकी थिइन्।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् । सो क्रममा निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’

सो क्रममा उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देश गरेकी छिन् ।

साथै, जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खटिन् पनि उनले सेनालाई आग्रह गरिन् ।