बुधबार शेयर बजार मापक नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा पुग्दा पनि ५ वटा कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भयो। बुधबार सागर डिष्टिलरीसहित मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड गरी पाँच वटा कम्पनीमा सकारात्मक सर्किट लागेकोमा मिथिला लघुवित्त मात्रै नेप्सेमा सूचीकृत पुरानो कम्पनी हो। अरु सबै नेप्सेमा सूचीकृत भएर १ वर्ष पनि नकाटेका कम्पनीहरु हुन्।

सागर नेप्सेमा कारोबार शुरु भएदेखि नै नियमित सर्किट लागेर बढिरहेको छ। बुधबार १९ औं सर्किट सहित ४ हजार ४ सय २० कित्ता शेयर कारोबार भएर १९५१.८० रुपैयाँमा अन्तिम कारोबार भयो। मिथिल्ला लघुवित्त अन्तिम समयमा मात्रै सर्किट लागेको थियो। झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्राीटेक इन्डष्ट्रिज लिमिटेड नेप्सेमा कारोबार भएदेखि मूल्य घटेर कारोबार भएको छैन। झापा इनर्जी १४ औं पटक र श्रीनगर एग्राीटेक ८ औं पटक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार झापा इनर्जी १०७३.६० तथा श्रीनगर ६४६.१० रुपैयाँ अन्तिम कारोबार भयो। स्वस्तिक लघुवित्त १५ औं कारोबार दिनसम्म पनि मूल्य बढेर कारोबार भए पनि शुरुका दिनमा भने सर्किट लेभलमा कारोबार भएको थिएन। सर्वसाधारणमा थोरै कित्ता मात्रै निष्काशन भएको हुँदा ‘लो सप्लाई’कै कारण यी कम्पनीहरुको मूल्य उचालिएको शेयर कारोबारीहरु बताउँछन्। आधा दर्जन कम्पनीहरु एकैपटक नेप्सेमा सुचीकृत भएकाले पनि हालै आइपीओ आएकाे कम्पनीमा आकर्षण बढेकाे हाे।
आईपीओ आएर सूचीकृत भएका कम्पनीहरु केही दिनसम्म सर्किट लेभलमा कारोबार हुनु सामान्य मानिन्छ तर पछिल्लो समय आईपीओ सूचीकृत भएर केही दिनको सर्किट पछि नियमित कारोबारमा रहेको कम्पनीको मूल्य समेत द्रुत्त गतिमा बढिरहेको छ। माबिलुङ इनर्जी लिमिटेड लगातार छैटौं दिनसम्म सर्किट कारोबार पछि सातौ दिनमा उच्च गिरावट सहित १ लाख २५ हजार भन्दा बढी कित्ताको शेयर कारोबार भयो। ५ सय रुपैयाँकै हाराहारीमा केही दिन कारोबार भएपछि माबिलुङको शेयर मूल्य ६ सय ५० देखि ७ सयको विन्दुमा केही दिन साइडवेज मूल्यमा कारोबार भयो। बुधबार माबिलुङको शेयर मूल्यले ८ सय रुपैयाँको नयाँ उचाई चुमेर ७ सय ७४ रुपैयाँमा अन्तिम कारोबार भयो।
त्यस्तै बुंगल हाइड्रोपावर लगातार ८ कारोबार दिनसम्मको सर्किट कारोबार पछि ६ सय ४७ रुपैयाँसम्म पुग्यो। ९ औं कारोबार दिनमा भने कम्पनीको शेयर मूल्य ५८९ रुपैयाँसम्म पुग्यो। केही दिन ५ सय ५० देखि ६० को हाराहारीमा कारोबार भएको बुंगल विगत दुई दिन मूल्य उचालिएर कारोबार हुँदा बुधबार भने ६ सय ५८ रुपैयाँमा अन्तिम कारोबार भयो।
यही प्रक्रिया पछिल्लो समय बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडमा पनि दोहोरिएको छ। ११ औं दिनसम्म सर्किट लेभलमा कारोबार भएर ८ सय १२ रुपैयाँको उच्च विन्दुमा पुगेको बन्दीपुर केबुलकार ३–४ दिन ७ सय ५० देखि ७ सय ६५ रुपैयाँको बीचमा कारोबार भएको थियो। पछिल्लो दुई दिनदेखि बन्दीपुर केबुलकारको शेयर मूल्यमा समेत बढोत्तरी देखिएको छ।
शेयर लगानीकर्ता सुन्दर रायमाझी पछिल्लो समय भर्खरै आईपीओ सूचीकृत भएका कम्पनीहरुमा लगानीकर्ताले पैसा खन्याउन थालेको बताए। पछिल्लो कारोबारको ट्रेन्डले यस्तै कम्पनीमा पैसा कमाउन सकिएको उनले बताए। अर्का शेयर कारोबारी सुशील जैनले पनि भर्खर सूचीकरणमा आएका कम्पनीमा लगानीकर्ताको चासो बढी रहेको बताए। ‘लोक क्याप कम्पनी भएका हुँदा सप्लाई पनि खासै नहुने हुुँदा नयाँ कम्पनीमा नै लगानीकर्ता झुम्मिएको देखिएको छ।’–उनले भने। विगतमा पनि ‘लो क्याप’ कम्पनीहरु एउटा लेभलमा पुगेपछि भने ‘मिड क्याप’ र हाइ क्याप कम्पनीहरु चल्ने गरेका थिए।
माबिलुङ हाइड्रोपावर र बन्दीपुर केबुलकारकै पुनरावृत्ति हिमस्टार ऊर्जा कम्पनीमा पनि देखिएको छ। आईपीओ सूचीकृत भएको ११ औं कारोबार दिनसम्म सर्किट लेभलमा कारोबार हुँदा ६ सय ९३ रुपैयाँको उच्च विन्दुमा बन्द भयो। १२ औं दिनमा ७६ हजार कित्ता शेयर कारोबारसहित थोरै मूल्य घटेर ६ सय ८८ रुपैयाँमा अन्तिम कारोबार भयो। झन्डै तीन हप्ता साइडवेजमा चलेको यो कम्पनी पनि पछिल्लो समय पुनः सर्किट लेभलमा कारोबार भइरहेको छ। बुधबार हिमस्टार ऊर्जाको शेयर मूल्य १ हजार २० रुपैयाँ पुग्यो।
त्यसैगरी दरमखोला हाइड्रोपावर, ओम मेगाश्री फर्मासेटिकल्स, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी, पियाेर इनर्जीलगायतका कम्पनीहरुमा पनि लगानीकर्ताको विशेष आकर्षण देखिएको छ।