उनले दुई ढुंगाबीचको तरुल जसरी चेपुवामा पर्छ, अर्थ राजनीतिक कारणले नेपाल पनि विशाल छिमेकी देशहरुबाट त्यसैगरि चेपुवामा पर्ने भएकोले कुटनीतिकरुपमा सचेतता अपनाउनु पर्नेमा जोड दिएका थिए ।

उनको यो भनाइलाई नेपाली राष्ट्रियताको पक्षधरहरुले ‘मूल मन्त्र’ नै मान्ने गरेका छन् । अहिले नेपाल साँच्चिकै त्यस्तै चेपुवामा परेको छ । तर, भौगोलिकरुपमा भारत र चीनको कारण होइन, भारतीय रुपैयाँ र अमेरिकी डलरबीचको लडाईमा परेर ।
केही समययता भारत र अमेरिकाबीचको अर्थराजनीतक द्वन्द्व चर्किएको छ र त्यसको असर भारतीय मुद्रा (रुपैयाँ)मा परिरहेको छ । ती दुई बीचको द्वन्द्वमा भारतीय रुपैयाँ इतिहासकै सर्वाधिक कमजोर अवस्थामा पुगेको छ र त्यसको असर नेपाली रुपैयाँमा परिरहेको छ । जबकी भारतीय रुपैयाँ र डलरको लडाईमा नेपाली रुपैयाँको प्रत्यक्ष संलग्नता र भूमिका छैन, देखिदैन ।
शुक्रबार एक अमेरिकी डलरको सटही दर १४४ नेपाली रुपैयाँ पुगेको छ । त्यस्तै १ अमेरिकी डलरको सटही दर ८९.८७ भारतीय रुपैयाँ पुगेको छ । र, यो निरन्तर बढ्ने क्रममा देखिएको छ । एक महिना यता मात्र भारुको तुलनामा डलरको मूल्य झण्डै २ रुपैयाँ बढिसकेको छ भने नेपाली रुपैयाँको तुलनामा ३ रुपैयाँ भन्दा बढी पुगेको छ । गत कात्तिक १५ गते १ अमेरिकी डलर बराबर १४१.४५ नेपाली रुपैयाँ कायम भएको थियो, जुन अहिले अहिले झण्डै ३ रुपैयाँ बढेर १ डलर बराबर १४४ रुपैयाँ पुगिसकेको छ । अर्थात डलर निरन्तर बलियो हुँदैछ र भारु तथा नेरु निरन्तर कमजोर हुँदैछन् । यो अवस्था कहिले कहाँ पुगेर रोकिएला यसै भन्न सकिदैन ।
किनकी यसरी डलरको मूल्य आकासिने क्रम हिजो आज वा एक डेढ महिना यता शुरु भएको होइन, गत वर्षदेखि नै त्यो क्रम शुरु भएको थियो र अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि गत जनवरीदेखि तीब्ररुपमा बढिरहेको छ ।
ट्रम्पले कार्यकाल सम्हालेपछि विश्वव्यापीरुपमा व्यापार युद्ध शुरु गरेका थिए । अर्थात् अन्य देशबाट अमेरिकामा प्रवेश गर्ने समानहरुमा उच्च मात्रामा आयात शुल्क बढाएका थिए। धेरै देशहरुसँग यो बीचमा वार्ता भएर अमेरिकाले सम्झौता गरिसकेको भए पनि भारतसँग भने सम्झौता हुन सकेको छैन । अमेरिका र भारत आ-आफ्नै अडानमा कायम रहँदा दुई देशबीच अहिले पनि व्यापार युद्धको अवस्था रहेको छ । अमेरिकाले भारतमा उत्पादित समानहरुलाई उच्च आयात कर लगाएका कारणअमेरिकामा हुने भारतीय निर्यात ठूलो मात्रामा घटेको छ । र, त्यसको असर भारतीय रुपैयाँमा परेको भारतीय अर्थविद्हरूले बताएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको भनाइमा अहिले अमेरिकाको कडा नीतिका कारण डलरका तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो भने त्यसको असर नेपाली मुद्रामा परेको हो ।
नेपालको व्यापार ६२ प्रतिशत भन्दा धेरै भारतसँग हुने भएका कारण भारतीय रुपैयाँ ‘क्रयास’ हुँदा नेपाली रुपैयाँ पनि उच्च दबाबमा परेको जानकारहरू बताउँछन् ।
स्मरण रहोस विसं २०१७ वैशाख १ गतेदेखि नेपालले भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणाली अपनाएको थियो । त्यसयता विभिन्न समयमा १०० भारु बराबर १०१, १३५, १४२, १७०, १६८ बनाइयो । तर फेरि अहिले निकै लामो समयदेखि उक्त दर १६० मै कायम छ।