'चुनाव हुँदैछ, यो समयमा बजार बढ्ने नै हो'

Dec 06, 2025 11:11 AM Merolagani



शेयर बजार सुस्त छ । यस्ताे बजारमा लगानीकर्ताले सक्रिय रुपमा लगानी गर्न डराएका छन् । बजारले बढ्नका लागि धेरै समय खर्चदा लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको हो ।

बजारले बढ्नको लागि राम्रो आधार निर्माण गरेको छ । नीतिगत सहजता अपनाइएको छ । बढ्दो तरलता व्यवस्थापनका लागि मौद्रिक नीतिले व्यक्तिगत कर्जाको सीमा बढाएको छ । लघुवित्त कम्पनीहरुले प्रवाह गर्ने ऋणको सीमा बढाएको छ । यसले लघुवित्त कम्पनीको नाफा बढ्ने सम्भावना देखिएको छ । भएका नीतिगत सुधार र बजारको अहिलेको अवस्था हेर्दा बजार धेरै घट्दैन । यसै विन्दुबाट बजारले सकारात्मक लय समाउने ब्रोकर नम्बर ९० का प्रमुख कार्यकारी अधिकृत सीए मनिष अर्यालले बताए । तीनै अर्यालसँग सुधा देवकोटाले गरेको कुराकानीः

आन्दोलन पछि बजारसँग सरोकार राख्ने धेरै नीतिगत सुधार भए । राजनीतिमा जस्तो शेयर बजारमा परिवर्तन भएको छैन । बजार किन सुस्त छ ?

जेनजीको आन्दोलन पछि बजारमा भएको ठूलो धक्काले शेयर बजारको प्राविधिक संरचना नै बिगारेको थियो । यसलाई सुधार गर्नको लागि सरकारले हदैसम्मको काम गरेको छ । यो अवधिमा धेरै नीतिगत सुधारहरु भएका छन् । तर लगानीकर्ताको आत्मविश्वास घटेको अवस्थाबाट विस्तारै उठ्न प्रयास गरेको छ ।

अहिले आन्दोलनबाट उत्पन्न परिस्थितीबाट बजार विस्तारै उठ्ने क्रममा छ । प्राविधिक रुपमा हेर्दा क्यान्डेलहरु सम्हालिदै गरेको देख्न सकिन्छ । यो भन्दा तल्लो विन्दुमा जाने अवस्था छैन । अपेक्षित वृद्धि भएको छैन । बजारमा लगानीकर्ताले धेरै अपेक्षा गर्ने र आजको भोलिनै बढ्नुपर्छ भन्ने अपेक्षाले पूर्णता नपाएको हो । तर बजारमा निरास हुनुपर्ने कुनै कारण छैन । बजार बढ्ने तयारीमा छ ।

 

विगतका वर्षहरुलाई हेर्दा डिसेम्बरमा वा यो सिजनमा बजार बढेको देखिन्छ । के यो पटक पनि बजारमा माहोल बन्ला ?

नेपालको विगतलाई हेर्दा डिसेम्बर देखि जनावरीमा बढेको देखिन्छ । बजार बुल भएको समयमा बजार बढ्ने नै भयो । तर बियरको समयमा पनि यो महिनामा नेप्से सूचक नै औसत ३ देखि ४ प्रतिशतसम्म बढेको देखिन्छ । कारोबारमा रहेका कम्पनीबाट हुने प्रतिफल आफ्नो ठाँउमा रह्यो । बियरको समयमा त यि महिनामा बजारबाट प्रतिफल आउने रहेछ । अहिलेको बजार भनेको सबै कुरा अनुकुल भएको अवस्था हो । अबको बजारले यसै विन्दुबाट नै गति निर्धारण गर्नेछ भन्ने कुरा विश्वस्त हुन सकिन्छ ।

यसै विन्दुबाट बजार बढ्ने आधारहरु के कस्ता छन ?

अहिलेको बजार बढ्ने आधारहरु खोजी राख्नु पर्ने अवस्था छैन । यस्तो किन भन्दा, धेरै नीतिगत सुधारहरु भइसकेको छ । ब्याजदर कम छ । तरलता छ । लगानीकर्ताको आत्मविश्वासमा मात्रै कमी भएको हो । यो विन्दुबाट बजार १०० अंकको वृद्धि लिनासाथ लगानीकर्ताको बजार प्रतिको आत्मविश्वास आफै बढेर आउने छ । सूचक बढ्न सुरु गरेपछि मात्रै लगानीकर्ताको आत्मबल आउने हो । यो विन्दुमा १०० लगानीकर्ता आशावादी छन् । २०० अंक बढ्दा हजार लगानीकर्ताको आत्मबल बढ्ने छ यसरी नै बजारको चक्र चल्ने हो । एकै पटक सबै लगानीकर्ताको आत्मविश्वास बढ्ने होइन । बढ्ने चरण नै यहि हो । सुरुमा डराएका लगानीकर्ता विस्तारै उत्साहित हुनेछन् । १०० अंक बढे पनि बजारमा प्रवेश गर्न ढिला भएछ भन्दै लगानीकर्ता थप हुने र लाखौ लगानीकर्ताको आत्मविश्वास बढ्ने माहोल बन्ने छ । बजारले धेरै कुराको माहोल सिर्जना गरेको छ । चुनाव हुँदैछ । यो समयमा बजार बढ्ने नै हो ।

तर अहिलेको कारोबार स्वरुपलाई हेर्दा दोस्रो बजार भन्दापनि आईपीओ बजार जस्तो किन देखिएको छ ? आईपीओबाट आएका कम्पनीको मात्रै शेयर मूल्य बढेकाे छ, पुराना कम्पनीमा लगानीकर्ताको ध्यान किन पुग्न सकेको छैन ?

यो साईडवयज बजारमा आफ्नो लगानी भएको कम्पनीको मूल्य बढ्दा खुशी भइन्छ । सूचक सहित लगानी भएको कम्पनी बढ्दा मध्यम खुशी भइन्छ । अहिलेको बजारमा तपाईले आईपीओबाट आएका कम्पनी मात्रै बढेकाे देखेको कुरा गर्नु भयो । यदि बजारमा दैनिक १० अर्ब माथिको कारोबार आउँदैन भने खेलाडीले चलाएका कम्पनीको मूल्य मात्रै बढेको हुन्छ । त्यस्ता लगानीकर्ताले अर्थात खेलाडीले कम पूँजी भएका कम्पनी मात्रै चलाउन खोज्छन् । नेप्सेमा भर्खर सूचीकृत भएको कम्पनीमा सप्लाइ कम भएको हुन्छ । त्यसैले अहिलेको बजारमा आईपीओबाट आएका कम्पनी मात्रै चलेको जस्तो देखिएको हो ।

 

अहिलेको बजार बढेकाे छैन । झन घटेको छ । ५-६ अर्बको मात्रै कारोबार भएको छ । तर्कसंगत रुपमा लगानी गर्ने लगानीकर्ताले त्यस्तो कम्पनीमा लगानी गर्न सक्दैनन । यसमा कारोबार रकम कम भएको कारणले आईपीओवाला कम्पनी बढेका हुन् । कारोबार रकम बढ्न थालेपछि बजारमा अरु कम्पनीहरु पनि चल्न थाल्ने छन् ।

बजारमा सबैले लगानी नगरेर हात खिचेर राखेपछि कारोबार रकम कसरी बढ्छ ?

त्यस्तो पनि होइन । सबै लगानीकर्ताले स्टक होल्ड गरेको छ भन्ने छैन । अहिलेको बजारमा शेयरको सप्लाई बढेको छ । बजारमा शेयरको डिमाण्ड क्रेट हुन सकेको छैन । अहिलेको समयलाई नै हेराैं। एकैपटक पाँच-सातबाट कम्पनी आईपीओ आएको छ । सो कम्पनीहरुको शेयर मूल्य सर्किट माथि सर्किट लागेको अवस्था छ । यसले बजारमा सप्लाई मात्रै बढेको छ । बजारमा आएको सप्लाई अनुसारको डिमाण्ड सिर्जना गर्न नसक्दा राम्रा कम्पनीमा पनि माहोल नभएको जस्तो देखिएको हो ।

बजारमा शेयर डिमाण्ड बढाउनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा लगानी गर्न सहज गरेको छ । तर अपेक्षित डिमाण्ड बजारमा किन आएन ?

यहाँ व्यक्तिगत लगानीकर्ता र संस्थागत लगानीकर्ताको आत्मविश्वास कम भएको छ । बजारमा लगानीकर्ताको आत्मविश्वास कम भएकै कारण अपेक्षित कारोबार रकम आउन नसकेको हो । बजारका लागि साकारात्मक माहोलहरु सिजर्ना भएको छ । विस्तारै बजारले गति लिने सुरमा छ । यस्तो बेला लगानीकर्ताहरुको आत्मविश्वास विस्तारै बढ्ने छ । उनीहरुले लगानीको दायरा बढाउनेछ । अनि मात्रै बजारमा कारोबार रकम बढ्ने छ । एकैपटक ६ अर्बको कारोबार रकमबाट १२ अर्बको रकम आउँदैन । विस्तारै सूचकसँगै कारोबार रकम बढ्ने हो । बजारमा राम्रो माहोल बन्दै गयो भने संस्थागत लगानीकर्ताले सक्रिय रुपमा कारोबार बढाउने छन् ।

अहिलेको बजारमा पैसा नभएको कारण शेयर नकिनिएको होइन । आत्मविश्वासको कमी भएकै कारण कारोबार सुस्ताएको हो । गतवर्ष १८ सय देखि २ हजारको विन्दुमा बजार रहदा विष्णु पौडेल अर्थमन्त्री हुने भएपछि बजारले छोटो समयमा नै हजार अंकको वृद्धि सहित बजार बढेको थियो । त्यो समयमा अहिलेको जस्तो नीतिगत सहजता थिएन । तर लगानीकर्ताकाे आत्मविश्वास बलियो थियो । त्यसैले बजारले द्रुत गतिमा बढ्न सम्भव भएको थियो । त्यसैले बजारमा लगानीकर्ताको आत्मविश्वासले नै सबै भन्दा ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

हालै नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने नीति लिदै मौद्रिक नीतिको समीक्षा गरेको छ । सो नीतिले बजारमा पैसा आउने वातावरण सिर्जना गर्ला ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरेको छ । बजारमा तरलता अनुपात अनुसार नीतिगत व्यवस्था गर्ने गरेको देखिन्छ । तरलता अभाव हुँदा व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा घट्ने गरेको छ । तरलता सहज हुँदा बढेको छ ।

लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिएको छ । साथै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।

लघुवित्त क्षेत्रमा समस्या देखिन थाले पनि नीतिगत कडाई गर्दै कर्जाको सीमा घटाएको हो । लघुवित्तको कर्जाबाट ग्रामिण भेगका ग्राहकहरु प्रभावित हुने छन् । लघुवित्तको वित्तीय प्रगति हुने छ । यसले दोस्रो बजारमा लगानीकर्ता पनि लाभान्वित हुने छन् ।

यो भनेको एक प्रकारको चक्र हो । नीतिगत सहज भएन भने तरलता खपत कम हुने भएकाले यस्तो नीति ल्याइएको हुन्छ । त्यसले राष्ट्र बैंकको खर्च बढ्ने र नाफामा प्रभाव पार्ने भएपछि यस्तो नीति लिइएको हो । यो समयले माग गरेको परिवर्तन हो । राष्ट्र बैंकले समयलाई बुझेको छ । समय बुझ्ने नियमनकारी भएमा अर्थतन्तले पनि गति लिनेमा विश्वास गर्न सकिन्छ ।




मौद्रिक नीतिमा भएका महत्त्वपूर्ण हेरफेर

Dec 01, 2025 11:00 AM

नेपाल राष्ट्र बैंककले चालु आर्थक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको समीक्षा सार्वजनिक गरेको छ । सोमबार केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।