प्राधिकरणको तथ्यांकअनुसार, चालू आव २०७२/०७३ सम्ममा ६६ केभीभन्दा माथि कुल २ हजार ९११ किलोमिटर प्रसारण लाइन बनेकोमा गत आव २०८१/०८२ को अवधिसम्म आइपुग्दा कुल ६ हजार ७ सय ६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको हो ।

तथ्यांकअनुसार, आव २०७३/०७४ मा ३३२ सर्किट किलोमिटर प्रसारण लाइन थपिएर ३ हजार २४३ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको थियाे । त्यस्तै, आव २०७४/०७५ मा थप १४१ सर्किट किलोमिटर थपिएर ३ हजार ३८४ सर्किट किलामिटर र आव २०७५/०७६ मा ६०६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भइ कुल ३ हजार ९९० सर्किट किलोमिटर प्रसारण लाइन निर्माणको संरचना बन्यो ।
त्यस्तैगरी, आव २०७६/०७७ मा २८० सर्किट किलोमिटर थप भइ ४ हजार २६९, आव २०७७/०७८ मा थप ६०५ सर्किट किलोमिटर थपिएर ४ हजार ८७४, आव २०७८/०७९ मा ४५५ सर्किट किलोमिटर थपिएर ५ हजार ३२९ र आव २०७९/०८० मा ४१३ सर्किट किलोमिटर थपिएर कुल ५ हजार ७४२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको देखिन्छ ।
त्यस्तैगरी, आव २०८०/०८१ मा ७६६ सर्किट किलोमिटर थपिएर ६ हजार ५०८ र आव २०८१/०८२ मा २५२ सर्किट किलोमिटर प्रसारण लाइन थप भइ कुल राष्ट्रिय प्रसारण लाइन संरचना ६ हजार ७६० सर्किट किलोमिटर पुगेको हो ।
सो अवधिमा सबैभन्दा बढी आव २०८०/०८१ मा ७६६ सर्किट किलोमिटर र सबैभन्दा कम आव २०७४/०७५ मा १४१ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको थियो । यो गत आवको असार मसान्तसम्मको तथ्यांक हो ।
त्यसयता पनि नेपालका विभिन्न ठाउँमा ६६ केभीभन्दा माथिका प्रसारण लाइन आयोजनाहरु निर्माण भइरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, चालू आव २०८२/०८३ को असोज मसान्तसम्ममा ६६ केभीभन्दा माथिका करिब ७ हजार १९७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।
अर्थात, साउनयता असोजसम्म ४३७ सर्किट किलोमिटर प्रसारण लाइन थप भएको छ । मन्त्रालयका अनुसार, हालसम्म ३३ केभीका ८ हजार १८९ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको हो ।