अडलट कारोबारमा ऐतिहासिक फड्को, महिना दिनमै तीन अर्ब बढीको कारोबार, किन बढ्यो ?

Dec 08, 2025 06:13 AM merolagani



सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अडलट अर्डर देखिने बनाएपछि हरेक महिना कारोबार बढ्न थालेको छ। नेप्सेले सार्वजनिक गरेको कात्तिक महिनाको मासिक विवरण अनुसार कारोबार बढ्दै गएको देखिएको हो।

नेप्सेको कात्तिक महिनाको मासिक विवरण अनुसार गत कात्तिक भरिमा दुई करोड ८५ लाख ६७ हजार कित्ता भन्दा बढी शेयर तीन अर्ब ५५ करोड ४५ लाख रुपैयाँमा किनबेच भए। जुन गत असोजको तुलनामा ११४५.३४ प्रतिशत बढी हो। गत असोजमा ९ लाख ३५ हजार कित्ता शेयर २८ करोड ५४ लाख रुपैयाँमा किनबेच भएका थिए।

भदौ महिनाको तुलनामा असोजमा पनि अडलट कारोबार बढेको थियो। गत भदौको तुलनामा असोजमा ५१.०८ प्रतिशतले कारोबार बढेको थियो। भदौमा दुई लाख २४ हजार कित्ता शेयर १८ करोडमा किनबेच भएका थिए। जुन साउन महिनाको भन्दा कम थियो। किनकि भदौमा जेनजी आन्दोलन कारण शेयर बजारमा १७ दिन मात्रै कारोबार भएको थियो।

तर साउन महिनामा भने २१ लाख एक हजार दुई सय ९३ कित्ता शेयर ७१ करोड ४४ लाख ५० हजार रुपैयाँमा किनबेच भए। जुन गत असारको तुलनामा ६४.०८ प्रतिशत बढी थियो। गत असारमा ११ लाख ४४ हजार तीन सय ५४ कित्ता शेयर ४३ करोड ५४ लाख ३४ हजार पाँच सय रुपैयाँमा किनबेच भएका थिए। तर असारमा भने ३१.१८ प्रतिशतले मात्रै कारोबार बढेको थियो। गत जेठमा कुल १६ लाख ७८ हजार ६८४ कित्ता शेयर ३३ करोड १९ लाख २९ हजार पाँच सय रुपैयाँमा कारोबार भएका थिए। गत जेठको तुलनामा साउनमा अडलट कारोबार ११५.२४ प्रतिशतले बढेको थियो। जुन दोब्बर भन्दा बढी थियो।

गत साउनदेखि नै नेप्सेले आफ्नो वेभ साइटमा अडलट आदेश देखिने बनाएको थियो। सोही कारण साउनमा कारोबार दोब्बरले बढेको थियो। तर भदौमा भने कारोबार एक्कासी खुम्चिएको थियो। तर असोज लागे यता पुन: कारोबार बढ्दै आएको छ। कात्तिकमा भएको कारोबार चालु आर्थिक वर्ष लागे यताकै सबैभन्दा धेरै हो।

 

साउन अघि अडलटको खरिदबिक्री आदेश राख्न मात्रै सकिने तर त्यसलाई अरू लगानीकर्ताले देख्न सक्दैन थिए। नेप्सेले अहिले ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा राखेको खरिदबिक्री आदेश आफ्नो वेबसाइटमा देखाइ दिने गरेको छ। नेप्सेको आधिकारिक वेबसाइटको मार्केट डेप्थमा अडलट आदेश देख्न सकिन्छ। टिएमएसमा राखेको एक मिनेटपछि मात्रै नेप्सेको वेबसाइटमा आदेश देखिन्छ। किनकि टिएमएसको डाटा एक मिनेट पछि मात्रै वेबसाइटमा आउने गर्छ। सोही कारण एक मिनेट पछि मात्रै देखिने गरेको हो।

तर आम सर्वसाधारण लगानीकर्ताले भने टिएमएसमा नै देखिने बनाउनु पर्ने माग गरिरहेका छन्। तर नेप्सेले भने खर्चको कारणले गर्दा तुरुन्तै टिएमएसमा देखाउन नसकिने जनाएको छ।

अडलट शेयर कारोबार भनेको के हो ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुनै पनि शेयरहरू दुई लर्ट हुन्छन्। जसलाई फेस भ्यालुको आधारमा तय गरिन्छ। जसलाई बोर्ड लट र अडलट भन्ने गरिन्छ। जस्तै कुनै शेयरको फेस भ्यालु १० रुपैयाँ छ भने त्यस्तो शेयर १०० कित्ता भए मात्रै त्यसलाई बोर्ड लट मानिन्छ। १०० कित्ता भन्दा कम भए त्यसलाई अडलट भनिन्छ। त्यस्तै फेस भ्यालु १०० रुपैयाँ भए १० कित्ता शेयर बोर्ड लट मानिन्छ। त्यसभन्दा कम भए अडलट हुने गर्छ। त्यसैगरी शेयरको फेस भ्यालु एक हजार रुपैयाँ भए एक कित्ता बोर्ड लट हुन्छ। त्यस भन्दा कम भए अडलट हुने गर्छ।

अनलाइन कारोबार सुरु गर्नु अघि भने नेप्सेले अडलट शेयरको कारोबार शुक्रवार मात्रै गराउने गरेको थियो। तर अनलाइन आएपछि भने त्यसलाई नियमित कारोबार समयमा नै कारोबार गर्न सकिने बनाइएको छ। तर अहिले पनि अडलट कारोबारले सूचक परिवर्तनमा भने कुनै भूमिका निर्वाह गर्दैन।