बुक बिल्डिङ विधिमा संघर्ष, शेयर जारी गर्ने सबै कम्पनी विवादित

Dec 08, 2025 12:30 PM Merolagani



सुधा देवकोटा
बुक बिल्डिङ विधि मार्फत सार्वजनिक शेयर निष्काशन गर्ने कम्पनीहरु विवादमा पर्ने गरेका छन् । हालसम्म दुई वटा कम्पनीले मात्रै यसविधि मार्फत शेयर जारी गरेका छन् । ती दुवै कम्पनी नै विवादमा मुछिएका हुन् ।

सर्वोत्तम सिमेन्टले स्वीकृत पाएपछि सर्वसाधारणमा शेयर जारी गर्न धेरै संघर्ष गर्नु परेको थियो । कम्पनीको स्वामित्वमा स्वार्थ बाझिने ब्यक्तिहरु समेत आवद्धता भएकै कारण कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर जारी गर्नै मुस्किल परेको हो । साथै धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंहले पदबाट बाहिरीनु पर्ने परिस्थिती बनेको थियो ।

 

त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड पनि विवादमा तानिएको छ । कम्पनीको वित्तीय विवरणको मूल्याङ्कन, कम्पनीको वास्तविकता भन्दा उच्च नेटवर्थ देखाएको विषयमा विवाद उत्पन्न भएपछि शेयर निष्काशन गर्ने प्रक्रिया लामो अवधिसम्म रोकिएको हो । हालै कम्पनीले अदालती चुनौतिलाई पार गर्दै आज अर्थात मंसिर २२ गते सोमबारदेखि शेयर जारी गरेकाे छ । कम्पनीले जारी गर्दै गरेको शेयर मूल्यमा असन्तुष्टि हुँदै लगानीकर्ताले विरोध जनाएका छन् ।

नेपाल धितोपत्र बोर्डले नीतिगत भष्टाचार गरी चलखेल गरेर घाटामा गएका कम्पनीलाई बुक बिल्डिङ विधिबाट शेयर जारी गर्ने गरेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए । 'यस विधिबाट आएका जतिपनि कम्पनी वास्तविक घाटा लुकाएर आएका छन् । तिर्नुपर्ने दायित्व उल्लेख नगरी तथा भएको सम्पत्तिलाई बढी मूल्यांकन गरेर वित्तीय विवरणमा छेडछाड गर्दै कम्पनी नाफा देखाउने गरेका छन् । सोही छद्म वित्तीय विवरणको आधारमा नियामकले कम्पनीलाई बुक बिल्डिङ विधिबाट शेयर जारी गर्ने स्वीकृत गर्ने गरेको छ,' उनले भने 'घाटाका कम्पनीहरु नै आउने हो भने यो विधिको कुनै औचित्य छैन । यस विधिले घाटाको कम्पनीलाई चर्को मूल्य तिर्नु पर्ने बाध्यता बनाएको छ । सर्वसाधारणको लगानी जोखिम बढाएको छ । वित्तीय विवरणमा छेडछाड गरेर यो विधिबाट आउनु भन्दा कम्पनीले व्यवसाय विस्तार र वित्तीय प्रगतिमा जोड दिनु पर्छ । अंकित मूल्यमा नै शेयर जारी गरेका कम्पनीको दोस्रो बजारमा दुई हजार माथिको कारोबार भएको छ । यसमा विधि भन्दा कम्पनी र नियामकको नियत सहि भएन।'

बुक बिल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताहरुको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक मूल्य निर्धारण विधि हो । धितोपत्र बजारमा विभिन्न क्षेत्रका कम्पनीहरुलाई बजारमा सहभागिता गराउने हेतुले याे विधि ल्याएको हो । बजारमा राम्रो कम्पनी प्रतिस्पर्धात्मक बुक बिल्डिङ विधि प्रयोग गरी मूल्य निर्धारण हुन्छ । त्यसैले यसलाई प्रभावकारी विधि भएको शेयर बजारका जानकार देव गुरागाईले बताए । तर बुक बिल्डिङ विधि विवादित हुनु चिन्ताको विषय हो । यसले कम्पनीहरुसँगै संस्थागत लगानीकर्तालाई समेत बजारबाट बिमुख गराउने जोखिम भएको गुरागाईको बुझाई छ ।

यसमा नियामक निकायको कमजोरी प्रष्ट छ । नेपाल धितोपत्र बोर्ड आफ्नो जिम्मेवारी प्रति जवाफदेही भएको देखिएन । अन्तराष्ट्रि बजारमा बुक बिल्डिङ विधिलाई नै प्रभावकारी ठान्ने गरेका छन् । नेपालमा यति बिरोध हुँदा पनि बोर्ड केही थाहा नपाएको जस्तो गरी बसेको छ । ‘यस बिधिबाट आउने कम्पनी योग्य छैनन भने प्रकृया बाटै रोक्ने हो । योग्य भए किन योग्य छ भन्ने कुराको जवाफ लगानीकर्ताले चाहेका छन् । अहिले भइरहेको गतिबिधिले बुक बिल्डिङ विधिको व्यवहारिकतालाई नै दुषित पारेको छ । यस तर्फ नियामक गम्भिर हुनुपर्छ,’ गुरागाईले मेरो लगानीसँग भने ।

सार्वजनिक निष्काशनमा आउने शेयरको मूल्य निर्धारण गर्ने विधि नै बुक बिल्डिङ हो । विद्यमान कानूनको व्यवस्था अनुसार बोर्डले काम गरेको छ । यसमा बिरोध जनाउनु पर्ने कुनै कारण नरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।

 

कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्दा शेयरको वास्तविक र न्यायोचित मूल्य पत्ता लगाउने एउटा महत्वपूर्ण संयन्त्र रुपमा बुक बिल्डिङ विधिलाई लिएको छ । तर बुक बिल्डिङ विधिबाट शेयर जारी गर्ने सबै कम्पनीहरु विवादमा पर्ने गरेका छन् । जसले सर्वसाधारणलाई शेयर जारी गर्ने प्रकृया मध्येको उत्तम र वैज्ञानिक ठानिएको विधिप्रति नै विवाद उत्पन्न हुनुले आम लगानीकर्ताको विश्वास घटेको छ ।

बजारमा राम्रा कम्पनीलाई आकषर्ण गर्न र बजारलाई अझ धेरै भाईब्रेन्ट बनाउन यो विधि ल्याएको नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले बताए । कुनै नयाँ विधिको अभ्यासको सुरुवाती चरणमा विरोध हुनु स्वभाविक हो । यो विधी मार्फत धेरै राम्रा कम्पनी बजारमा आउने वातावरण बन्नेछ । राम्रो प्रतिफल वितरण गर्ने क्षमता भएका कम्पनीहरु बजार भन्दा बाहिर छन् । यो विधिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ढिला भइसकेको छ । सरोकारवाला सबै पक्ष गम्भिर भएर यस विधिलाई विवादरहित बनाउनु पर्नेमा गिरीको जोड छ ।

शेयर जारी गर्ने सुरुवाती चरणमा नै विवादमा मुछिने डरले धेरै कम्पनी पछि हटेका छन् । विधि मार्फत शेयर जारी गर्ने केही कम्पनीले चासो देखाएका छन् । तर ती कम्पनीहरु पनि सरोकारवालाको स्वीकृतको पखाईमा छन् ।

हालसम्म सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले मात्रै यस विधि मार्फत सर्वसाधारणलाई शेयर जारी गरेका छन् । सर्वाेत्तम सिमेन्ट दाेस्राे बजारमा काराेबार भइरहेकाे छ । दुवै कम्पनी कुनै न कुनै विषयमा विवादमा मुछिएका हुन् । दोस्रो बजारमा सूचीकृत भएर कारोबार हुँदैछ भने रिलायन्स स्पिनिङ आज अर्थात मंसिर २२ गतेदेखि सर्वसाधारणमा शेयर जारी गरेको छ । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुले बिल्डिङ विधिबाट कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएका छ । सोही मूल्यमा १० प्रतिशत छुटमा सर्वसाधारणले प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसाको दरमा खरिद गर्न सक्ने भएका हुन् ।

बुक बिल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताको बोलकबोल मार्फत मूल्य निर्धारण गरि कम्पनीको वास्तविक मूल्यको सीमा कायम गरिन्छ । लिलामी अर्थात बोलकबोलको आधारमा, शेयरको माग र आपूर्तिलाई ध्यानमा राखेर अन्तिम निष्काशन मूल्य निर्धारण हुन्छ । कम्पनीको शेयर मूल्य बजारको यथार्थ अवस्था अनुसार कायम गरिने भएकाले यस विधीलाई बैज्ञानिक ठानिएको जानकारहरुको बुझाई छ ।