नेपाल विद्युत् प्राधिकरणका अनुसार, पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युतीय तार भूमिगतको काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्रमा काम अघि बढाइएको थियो ।

अहिले प्राधिकरणले चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको छ ।
अब काठमाडौंभित्र देखिएको विद्युतीय तार भूमिगतका काममा देखिएका समस्या समाधान गर्न प्राधिकरण र काठमाडौं महानगरापालिकाबीच समन्वय गर्ने सहमति भएको छ । त्यसअनुसार, तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ ।
सडक विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेकोजस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
मन्त्री घिसिङले आगामी वर्षायाम सुरुहुनुभन्दा अगाडि काठमाडौंभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको (ओभरहेड)तार हटाउन तत्काल सुरु गर्ने आग्रह गरे ।
‘‘भौतिक मन्त्रालयको जिम्मेवारी मैलै नै सम्हालिरहेको छु, तार भूमिगत गर्ने काम बाँकी रहेका ठाउँमा काम अगाडि बढाउन काठमाडौं महानगरपालिका प्रमुखसँग छलफल गरिसकेको छु, महानगरपालिकाले सहयोग नै गरिरहेको छ,काम बाँकी रहेको पुतलीसडकलगायतका क्षेत्रको काम तत्काल अगाडि बढाऔं, अन्तिम समय यही हो, अहिले पनि काम गर्न सकिएन भने कहिले काम हुँदैन’, घिसिङले भने। उनले निर्माण कार्य सम्पन्न गरेपछि फिल्डमा देखिएको सडक मर्मतलगायतका काम तत्काल गर्न निर्देशन दिए ।
प्राधिकरणका कार्यकारी मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने बताए। काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेटलाई क्रमशः हटाउँदै जाने सिलवालले उल्लेख गरे ।