आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जनाको नाम मन्त्रिपरिषद् सामु पठाउने निर्णय गरेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरे सचिव बढुवाका लागि सिफारिस भएका हुन्। सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन्।भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् भने घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्।
अब बस्ने मन्त्रिपरिषद् बैठकले ती तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ। वरिष्ठताका आधारमा बढुवा हुने प्रचलन रहेकाले पौडेलको सम्भावना उच्च रहेको स्रोतले जनाएको छ।
यसअघि मङ्सिर ९ गते राति राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएका थिए। उनीहरू अवकाशमा गएपछि मन्त्रिपरिषद्ले वैकुण्ठप्रसाद अर्याललाई सचिव र रक्षा सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा बढुवा गरेको थियो।
त्यही पद रिक्त भएपछि तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्न सिफारिस गरिएको हो।