लाभांश घोषणा गर्ने क्रम तीव्र, अहिलेसम्म ६६ वटा कम्पनीले गरे लाभांश घोषणा

Dec 15, 2025 06:12 AM MeroLagani



नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रमलाई तीव्रता दिएका छन् । विगत केही दिनदेखि हरेक दिन ४–५ वटा कम्पनीले लाभांश घोषणा गर्न थालेका हुन् । साधारण सभा बस्ने समय घर्किन थालेसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रमलाई तीब्रता दिएका हुन।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकेको ६ महिना भित्र साधारण सभा सक्नुपर्छ । साधारण सभा पेश गरिने विभिन्न प्रस्तावहरु मध्ये लाभांश सम्बन्धी प्रस्ताव एक प्रमुख हो । सूचीकृत कम्पनीहरुले सञ्चालक समितिले लाभांश पारित गरेर नियामक निकायबाट स्वीकृत भएपछि साधारण सभाको सूचना प्रकाशित गर्नुपर्छ। सूचना प्रकाशित गर्दा कम्तिमा २१ दिन अगाडि सार्वजनिक सञ्चार माध्यममा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ।

आइतबारमात्रै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), समता घरेलु लघुवित्त, जीवन विकास लघुवित्तले लाभांश घोषणा गरे तर लक्ष्मी लघुवित्तले आइतबार नै कुनै लाभांश नदिने घोषणा गरेको थियो । गत आवको नाफामा एचआइडीसीएलले १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरेर कुल साढे ३ प्रतिशत लाभांश घोषणा गरेको छ भने समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत् शून्य दशमलब २६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । जीवन विकास लघुवित्तले भने १४ प्रतिशत बोनस शेयर र ०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

गत शुक्रबार पनि आईएमई लाइफ इन्स्योरेन्स, कुथेली बुखारी स्मल हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेका थिए भने बिहीबार नेपाल लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, फष्ट माइक्रोफाइनान्स लघुवित्त, डिप्रोक्स लघुवित्तले लाभांश घोषणा गरेका थिए ।

आईएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने कुथेली बुखारी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर घोषणा गरेको छ । सेबोनले बोनसमा लाग्ने कर लाभांश कम्पनीले आफैले व्यवस्थापन गर्न निर्देशन दिएकाले सम्भवतः यसको कर समेत कम्पनीले नै तिरिदिनेछ । कुथेली बुखारीले अहिलेसम्म नगद लाभांश भने घोषणा गरेको छैन । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

नेपाल लाइफले ५ प्रतिशत बोनस र १६.०५ प्रतिशत नगद लाभांश गरी २१.०५ प्रतिशत लाभांश घोषणा गर्दा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भने ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यता फष्ट माइक्रोफाइनान्स लघुवित्तले साढे ६ प्रतिशत नगद लाभांश तथा डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यसैगरी गत हप्ता सिटिजन लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल, नबिल बैंक र घोराही सिमेन्टले समेत लाभांश घोषणा गरेको थियो। बीमा कम्पनीमध्ये यस वर्ष सबैभन्दा पहिले सिटिजन लाइफ इन्स्योरेन्सले पहिलोपटक २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । तारागाउँ रिजेन्सी होटलले समेत ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यो होटलमा जेनजी आन्दोलनका कारण क्षति पुगेकाले मर्मत सम्भारका लागि हाल बन्द अवस्थामा रहेको छ । नबिल बैंकले गत वर्षको नाफाबा साढे १२ प्रतिशत नगद लाभांश र घोराही सिमेन्टले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश गरी १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये अहिलेसम्म ६६ वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । अहिलेसम्म १२ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, ३ वटा होटल, ३ वटा लगानी समूहको कम्पनी, १४ वटा हाइड्रोपावर, ३ वटा जीवन बीमा समूह, ६ वटा उत्पादनमूलक समूहका कम्पनी, १० वटा लघुवित्त, २ वटा निर्जीवन बीमा कम्पनी र एउटा अन्य क्षेत्रको कम्पनी गरेर ६६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्।