१ हजार १२६ मिटर लामो दुई लेनको सुरुङमार्गको वारपार छेदन(ब्रेक थ्रु)को काम यसअघि नै सम्पन्न भइसकेको छ ।
सुरुङमार्गभित्र लाइनिङ (भित्ता र भुँइ ढलान)लगायतका काम पनि सकिएको छ । सुरुङभित्र इलेक्ट्रो मेकानिकलको काम आगामी असार मसान्तसम्म सम्पन्न गर्ने तयारी भइरहेको सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख नवराज बास्तोलाले बताए ।

उनले आगामी असारसम्म टनेलतर्फको सम्पूर्ण काम सम्पन्न हुने बताए । ‘आगामी असारमसान्तसम्म टनेलतर्फको सबैजसो काम सकिन्छ । अहिले हाम्रो फोकस टनेल निर्माण नै हो,’ उनले भने । तीनवटा बाइपास सुरुङभित्रका काम गर्न बाँकी छ ।
उनका अनुसार, हालसम्म परियोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ भने वित्तीय प्रगति भने ५४ प्रतिशत छ । सिद्धबाबा सुरुङको बाहिरी भागमा पहिरो जान रोक्न ‘रक सेड’, रक फल ब्यारिएर र स्लोप प्रोटेक्सनको काम बाँकी छन् । तीलगायतका परियोजनाका बाँकी काम ठेकेदारले सन् २०२७ मार्चसम्म गरिसक्नु पर्ने कार्यतालिका छ ।
चिनियाँ चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले परियोजना निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनीले २०७९ सालदेखि परियोजनाको निर्माण सुरु गरेको थियो ।
दुई वर्षसम्म प्रारम्भिक रुपमा बाहिरी भागमा काम गरेको थियो । पछिल्लो साढे २ वर्षदेखि निर्माण कम्पनीले सुरुङमार्गको काम निरन्तर गरिरहेको छ । परियोजना प्रमुख बास्तोलाका अनुसार, अहिले सुरुङमार्गमा फोकस भएको ठेकेदारको गति केही धीमा देखिन्छ । ठेकेदारले कामको गति बढाएमा र अन्य प्रतिकुल अवस्था सिर्जना नभएमा आगामी १५ महिनाभित्र परियोजनाका सम्पूर्ण काम पूरा हुने बास्तोला बताउँछन् ।
‘अहिले त परियोजना काम ‘सेड्यूल’ अनुसार नै छ । टनेलतर्फ फोकस गरिएकाले ठेकेदारले केही ढिलाइ गरेको हो कि जस्तो पनि छ,’ उनले भने, ‘तर, कामको गति बढाएको खण्डमा सेड्यूलअनुसार नै परियोजना निर्माण सम्पन्न हुन्छ ।’
परियोजना कुल ७ अर्ब ३४ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । चालू आर्थिक वर्ष २०८२-०८३ मा सिद्धबाबा सुरुङ परियोजनाका लागि २ अर्ब ६० करोड रुपैयाँसमेत विनियोजन गरेको छ । परियोजनाअन्तर्गत नै सुरुङमार्गसम्म पुग्ने सडक विस्तार हुनेछ । जसमा बुटवलको चिडियाखोलादेखि ९१० मिटर र पाल्पातर्फ ५६० मिटरमा दुई लेन सडक सुधार गर्नुपर्नेछ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट एण्ड कन्ट्रक्सन(इपीसी) मोडेलमा निर्माण भइरहेको परियोजनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा समेत स्वंयम ठेकेदार कम्पनीले गर्नेछ ।
एसियन हाइवे स्टाण्डर्डमा निर्माण गर्ने गरी डिजाइन गरिएको सुरुङमार्ग परियोजनाले बढ्दो यातायातको चापलाई न्यूनीकरण गर्दै शुरक्षित यातायातको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।
सुरुङ परियोजना निर्माण भएपछि रुपन्देही, पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पर्वत,बागलुङलगायतका जिल्लाको यात्रा सहज हुनेछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको सिद्धबाबा खण्डमा हरेक वर्ष बाढी र पहिरोको त्रास र जोखिम समेत यो सुरुङमार्ग बनेसँगै अन्त्य हुनेछ ।