साढे ३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २०.८ महिनाको वस्तु आयात धान्ने

Dec 15, 2025 04:03 PM Merolagani



बढ्दो रेमिट्यान्स आप्रवाहसँगै नेपालको वैदेशिक मुद्रा सञ्चिति हरेक महिना बढ्दो क्रममा रहेको छ । चालु आवको कार्तिक मसान्तसम्म नेपालको कुल वैदेशिक मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । 

चालु वर्षको शुरुवातमा २६ खर्ब ७७ अर्ब रहेको विदेशी मुद्रा सञ्चिति ४ महिनाकै दौरान ३ खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँले बढेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

२०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।