बैंकहरुले शेयर धितोमा गरेको ऋण लगानी गत असारसम्मको तुलनामा ३.९ प्रतिशत धेरै हो। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा चार महिनामा ५ अर्ब ५२ करोड २७ लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये १ अर्ब २७ करोड रुपैयाँ कात्तिकमा मात्र प्रवाह भएको मार्जिन कर्जा हो। गत असारसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेका थिए।

चार महिनामा १ करोड रुपैयाँभन्दा बढीको शेयर धितो कर्जा ४ अर्ब १० करोड रुपैयाँ ऋण लगानी भएको छ। गत असारसम्म १ करोड माथिको ऋण लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्म आइपुग्दा ४.२ प्रतिशत बढेर १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै ५० लाखदेखि १ करोडसम्मको शेयर धितो कर्जा ४ प्रतिशतले बढेर १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। असारमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १६ अर्ब २ करोढ ९७ लाख रुपैयाँ थियो । २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा २.३ प्रतिशतले बढेर १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। असारमा यो कर्जा १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ४.६ प्रतिशतले बढेर ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको छ। शेयर धितो कर्जा लगानीमा अहिले नेपाल राष्ट्र बैंकको नीति खुकुलो छ। विगतमा ५० लाखभन्दा माथिको मार्जिन कर्जामा १ सय ५० प्रतिशतको जोखिम भार रहे पनि अहिले सो भार हटाइसकेको छ भने २५ करोड रुपैयाँसम्मको व्यक्तिगत मार्जिन कर्जा सीमा पनि हटाइसकेको छ । बैकिङ प्रणालीमा निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि सुस्त भए पछि राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेका सबै नीतिहरु फिर्ता लिइसकेको छ ।