एमाले महाधिवेशन, उम्मेद्वारी दर्तापछि ओली गुट तितरबितर हुँदा एकाएक उत्साहित हुँदै पोखरेल गुट, पासा पल्टिएला ?

Dec 15, 2025 05:49 PM mero lagani



नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेद्वारी दर्ता प्रकृया शुरु भएसंगै अध्यक्ष केपी शर्मा ओली गुट तितरबितर भएको छ । 

ओली गुटका प्रभावशाली मानिएका कैयौं नेताहरुले उक्त गुटबाट विद्रोह गर्दै उम्मेद्वारी घोषणा गर्न थालेपछि अध्यक्षका अर्का उम्मेद्वार ईश्वर पोखरेल पक्षधरहरु भने उत्साहित भएका छन् ।

उम्मेद्वारी दर्ताको क्रममा आफू पक्षधर नेताहरुले आफ्नो आदेशलाई पूर्णरुपमा पालना गर्छन् भन्ने ठानेका ओली त्यतिबेला झल्याँस्स भए जब उपाध्यक्षमा प्रदिप ज्ञवाली र सचिवमा लेखराज भट्टले उम्मेद्वारी दिन अस्वीकार गरे । अघिल्लो महाधिवेशनबाट उपमहासचिव भएका ज्ञवाली महासचिवका दावेदार हुन् तर महासचिव शंकर पोखरेल दोहोरिन चाहेपछि ओलीले ज्ञवालीलाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । तर, ज्ञवाली आफू महासचिवको दावेदार भएको भन्दै उपाध्यक्ष पदमा नबस्ने बरु केन्द्रिय सदस्य मात्रै बस्ने घोषणा ओलीलाई सुनाए । त्यसपछि ओली र विष्णु पौडेलले ज्ञवालीलाई मनाउने कसरत गरिरहेका छन्, तर यो समाचार लेख्दासम्म उनी केन्द्रिय सदस्य मात्रै लड्ने टुंगो लागेको छ ।

त्यस्तै माओवादी पृष्ठभूमीका भट्ट चितवन महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । उनलाई ओलीले फेरि पनि त्यही पदमा दोहोर्याउने प्रस्ताव गरेपछि उनले ठाडै अस्वीकार गरेका थिए । फलस्वरुप ओलीले उपमहासचिवमा प्रस्ताव गरेका भानु भक्त ढकाललाई सचिवको उम्मेद्वार बनाएर भट्टलाई उपमहासचिवकै उम्मेद्वार बनाइएको छ ।


उमेद्वारी दर्ता र फिर्ता चलिरहेकोले अन्तिममा को कुन पदमा उम्मेद्वार हुन्छन् अहिले नै सम्पूर्णरुपमा भन्न सकिने अवस्था छैन । ज्ञवाली र भट्ट मात्र होइन, ओली पक्षका प्रभावशाली मानिएका धेरै नेताहरुले विद्रोह गरेको देखिएको छ ।

एमाले भित्र सबैभन्दा सादगी र कामकाजी नेता मानिएका र विगत देखि नै ओलीको पक्षमा कडाईका साथ उभिदैं आएका काशिनाथ अधिकारीले अनुशासन आयोगको अध्यक्ष पद नै अस्वीकार गरेका छन् । एमालेको विधान अनुसार अनुशासन आयोग सबैभन्दा प्रभावकारी निकाय मध्ये एक हो र त्यसलाई पदाधिकारीकै सरहको ‘पदेन’ हैसियतको पद मानिन्छ । तर, पदाधिकारीकै उम्मेद्वार बन्ने सोंच बनाएका अधिकारीलाई ओलीले पदाधिकारीमा नसमेटेपछि उनले कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेका छन् ।

कुनै बेला ‘महेश बस्नेत स्टाइल’ मा ओलीको पक्षपोषण गर्ने गरेका काठमाण्डौका रैथाने कृष्णगोपाल श्रेष्ठले पनि महाधिवेशनको मुखमा ओली पक्ष छोडेका छन् । त्यस्तै ओलीको ‘किचन क्याविनेटका सदस्य’ मानिने संखुवासभाका राजेन्द्र गौतम र झापाका अग्नी खरेलले पनि उम्मेद्वारी दर्ता भएपछि गुटबाट विद्रोह गरेर ‘पार्टी भित्रको स्वतन्त्र’ भएको घोषणा गरेका छन् । पार्टीको प्रचार विभागका निवर्तमान प्रमुख गौतम र पूर्व कानुनमन्त्री समेत रहेका खरेल दुवै जनाले ओली गुटबाट पदाधिकारीको उम्मेद्वार बन्ने प्रयास गरेका थिए । नपाए पछि उनीहरुले उक्त गुट छोडेका हुन् ।

त्यस्तै आफूलाई केन्द्रिय सदस्यमा मात्रै सिमित गरिएपछि पूर्वमन्त्री लालबाबु पण्डितले ओली गुट छोडेर ‘स्वतन्त्र’रुपमा सचिवको उम्मेद्वार बनेका छन् भने पन्त पोखरेल गुटबाट उपाध्यक्षको उम्मेद्वार बनेका छन् । त्यस्तै पदाधिकारीमा दावी गर्दै आएका भीम आचार्यलाई पनि केन्द्रिय सदस्यमा मात्र सिमित गरिएपछि स्वतन्त्ररुपमा उपाध्यक्षको उम्मेद्वार बनेका छन् ।

त्यस्तै पूर्व उपाध्यक्ष सुवास नेम्वाङका छोरा तथा युवाहरुमाझ निकै लोकप्रिय रहेका युवा नेता सुहाङ नेम्वाङले पनि आफूलाई ओली गुटले नसमेटेपछि स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

उम्मेद्वारी दर्ताको विषयमा ओली गुट आन्तरिक विवादमा फसेर तितरबितर हुँदा पोखरेल पक्ष भने तुलनात्मकरुपमा संगठित देखिएको छ । चुनावी प्रकृया शुरु भएपछि ओली गुटमा देखिएको भद्रगोलले परिणाम आफ्नो पक्षमा आउन सक्ने सम्भावना थप बलियो बनाएको भन्द्रै पोखरेल पक्ष भने उत्साहित देखिएको छ ।