यस दिन नेप्से परिसूचक १८.३७ अंक बढेर २६१९.९९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ५५ हजार ७८ पटकको कारोबारमा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँबराबरको ७८ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन लुम्बिनी विकास बैंकको करिब साढे १० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।