सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले लिएको ऋणको विषयमा बुझ्न पुगेका बैंकका कर्मचारीमाथि बुधबार दुव्यवहार भएको थियो। पीडित पक्षले प्रहरीमा जाहेरी दिँदा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा ल्याउन आनाकानी गर्दै आएको थियो।
ज्योति विकास बैंकका कर्मचारीलाई दुव्यवहार गरिएपछि डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपाल (डिबान)ले विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको थियो । डिबानलाई नेपाल बैकर्स संघ, नेपाल फाइनान्स एसोसिएसन र नेपाल माइक्रोफान्स बैकर्स एसोसिएसनले समेत ऐक्यबद्धता जनाएको थिए ।

‘नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन् ।’–डिबानले विज्ञप्तिमा भनेका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ –‘कर्जा असुली गर्नु बैंकको जिम्मेवारी हो र बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको निक्षेपकर्ताको बचत सुरक्षित गर्नु हो । सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा बैंकका कर्मचारीहरूले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय हो । यस प्रकारको घटनाले बैंकिङ्ग सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकाय तथा ऐन–कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत बाधा पुर्याइ चुनौती दिएको छ ।’
बैंक तथा वित्तीय संस्थाहरूले नियमानुसार अपनाएको असुली प्रक्रिया तथा धितो लिलामी लगायतका विषयमा असहमति भएमा गुनासो गर्ने, अदालती प्रक्रियामा जाने लगायतका कानुनी प्रक्रिया हुँदा हुँदै कानुनलाई नै आफ्नै हातमा लिई अराजक गतिविधिमा संलग्न भई गरिएको यस्ता आपराधिक कार्यहरूको भत्र्सना गर्दै एशोसिएसनले पठाएको विज्ञप्तिमा बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीको लागि ऋणसँग संवादका लागि जाँदा सुनियोजित रुपमा कर्मचारीहरुको ज्यानै लिने मनसायले गरिएको यस्तो आपराधिक कार्यको विरोध गरेको छ ।
यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरुको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछौं । साथै यस सम्बन्धी सूचना प्राप्त हुनासाथ सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडी बढाउनु पर्नेमा यो विज्ञप्ति निकालुन्जेल सम्म पनि जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भिर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरुलाई कानूनी दायरमा ल्याउन ध्यानाकर्षण गराउँदछौं । साथै भविष्यमा यस्ता अपराधिक कार्यहरु दोहोरिन नदिने वातावरणको सुनिश्चित्ता गरी यस्ता घटनाको कुनै पनि माध्यमबाट सूचना प्राप्त हुनासाथ सम्बन्धित पक्षको जाहेरी नआएता पनि अपराधीहरुलाई कानूनी दायरामा ल्याई तत्काल सम्बन्धित सरकारी निकायले तदारुकताका साथ कारवाही गर्न समेत विज्ञप्तिमा जाेडदार माग गरिएकाे छ।
बैंकिङ क्षेत्रबाट चर्को विरोध हुनुका साथै नेपाल राष्ट्र बैंकका गभर्नरले समेत चासो दिएर गृहमन्त्रीलाई पहल गर्न अनुरोध गरेपछि प्रहरीले बल्ल दुव्यवहारमा संलग्नलाई पक्राउ गरेको हो। ज्योति विकास बैंकका एक कर्मचारीका अनुसार प्रहरीले समेत शुरुमा पक्राउ गर्न आनाकानी गरेका थिए । फर्मले ४ करोड ५० रुपैयाँ ऋण लिएकामा ब्याज नतिरेपछि बैंकका कर्मचारी बुझ्नका लागि जाँदा दुव्यवहारमा परेका थिए।
राष्ट्र बैंकको ध्यानकर्षण
यसैबीच हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारको योजना अनुसार अहिले नेपालका सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भइसकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ । यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।
बैकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था रहेको स्मरण गराउँदै बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्घ भएका गैरव्यावसायिक तथा उच्छृब्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ । वित्तीय संस्थाका कर्मचारीमाथि गैरजिम्मेवार व्यवहार गर्ने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारवाही गरिने हुँदा उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई अनुरोध गरेको छ ।