एमाले महाधिवेशनमा व्यापकरुपमा ‘क्रस भोटिङ’, अध्यक्षमा ओली र महासचिवमा सुरेन्द्र पाण्डेले जित्ने कार्यकर्ताको भविश्यवाणी

Dec 17, 2025 03:04 PM mero lagani



नेकपा एमालेको ११ औं महाधिवेशनमा बुधबार बिहानदेखि मतदान सुरु भएको छ। ८० वटा बुथमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । 

बुधबार बिहान ८ बजेबाट मतदान सुरु भएको मतदान राति १० बजेसम्म सकिने र भोलि बिहानसम्म सबै मत परिणाम आउने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। महाधिवेशनमा साढे ६ सय उम्मेदवार छन् भने २ हजार २ सय ६३ मतदाता रहेका छन्।

 

अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गुट नै बनाएर चुनाव लडे पनि कार्यकर्ताले भने त्यसलाई अस्वीकार गर्ने देखिएको छ ।

दुवै पक्षले लिष्ट बाँडेर आफ्नो पक्षलाई मात्रै मत दिन आग्रह गरे पनि काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिल परिसरमा रहेका महाधिवेशन प्रतिनिधिहरुले व्यापकरुपमा ‘क्रस भोटिङ’ गरिरहेको पाइएको छ । मतदान गर्न जाने तयारी गरिरहेका र मतदान गरेर निस्किएका अधिकाँश नेता कार्यकर्ताले पार्टी बचाउनको लागि ‘क्रस भोटिङ’ भइरहेको बताए । ‘लिष्ट अनुसार एउटै गुटलाई भोट हाल्नु पार्टीलाई सिध्याउने हो । त्यसैले लिष्टअनुसार होइन, आफ्नो मूल्याँकन अनुसार मतदान भइरहेको छ,’ लुम्बिनी प्रदेशबाट महाधिवेशन प्रतिनिधि रहेका एक नेताले मेरो लगानीसँग भने।

उनका अनुसार अध्यक्ष पदको तुलनामा उपाध्यक्षलगायतका पदहरुमा व्यापकरुपमा ‘क्रस भोटिङ’ भइरहेको छ । त्यसमा पनि महासचिवमा त सबैभन्दा बढी ‘क्रस भोटिङ’ भइरहेको र त्यसले ओली खेमाबाट महासचिवमा लडेका निवर्तमान महासचिव शंकर पोखरेलको तुलनामा ईश्वर पोखरेल खेमाबाट महासचिवमा लडेका सुरेन्द्र पाण्डेलाई जितको नजिक पुर्याएको आंकलन धेरै नेता कार्यकर्ताको छ । ‘अध्यक्षमा त ओलीले हार्ने सम्भावना देखिदैन, तर महासचिवमा भने ईश्वर पोखरेल पक्षका पाण्डेले जित्ने सम्भावना देखिएको छ । शंकर पोखरेलप्रति ओली गुटकै धेरै कार्यकर्ताहरु सकारात्मक देखिएका छैनन । महाधिवेशन हल भित्र पनि अधिकांशको त्यस्तो भावना पाइएको छ । त्यसैले महासचिवमा पोखरेलको तुलनामा पाण्डे निकै सहज अवस्थामा देखिएका छन्’ एक महाधिवेशन प्रतिनिधिले भने ।


उपाध्यक्ष, उपमहासचिव, सचिवसहित केन्द्रिय सदस्यहरुमा पनि व्यापकरुपमा ‘क्रस भोटिङ’ भइरहेको पाइएको छ । उपाध्यक्षहरुमा ओली प्यानलका विष्णु पौडेल, रामबहादुर थापा बादल तथा पोखरेल प्यानलका परशुराम मेघी गुरुङ र विन्दा पाण्डेको पल्ला भारी रहेको चर्चा महाधिवेशन स्थलमा रहेका कार्यकर्ताहरुबीच चलिरहेको छ । त्यस्तै सचिवमा पनि प्रशस्त ‘क्रस भोटिङ’ भएको र पोखरेल खेमाबाट ओली खेमा महेश बस्नेत, छविलाल विक लगायतलाई ओली पक्षबाट रचना खड्का, गोकुल बाँस्कोटालगायतलाई उल्लेख्य मात्रमा मत खसेको दावी गरिएको छ ।

स्मरण रहोस् एमालेमा १९ पदाधिकारीसहित ३ सय १ केन्द्रीय सदस्यको लागि अध्यक्षका दुवै उम्मेदवारले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।