४५ वर्षको इतिहासलाई उल्टाउँदै कच्चा तेलमाथि चाँदी हावी, किन यसरी बढिरहेको छ मूल्य ?

Dec 17, 2025 06:00 PM mero lagani



इतिहासकारहरुका बीचमा एउटा चर्चित भनाई छ—इतिहास दोहोरिन्छ, तर ठवाक्कै उहीरुपमा होइन । 

चाँदीले इतिहासकाहरु बीचको त्यही चर्चित घटनालाई अहिले पुष्टि गरेको छ । र, ४५ वर्ष पुरानो इतिहासलाई दोहोर्याउँदै अगाडि बढेको छ । अर्थात् ४५ वर्षपछि पहिलो पटक चाँदीको मूल्य कच्चा तेलको मूल्यभन्दा माथि छ ।

 

अन्तराष्ट्रिय बजारमा बुधबार चाँदीको मूल्य प्रति औंस ६३.०६ डलर पुगेको छ जबकी कच्चा तेलको मूल्य ५६.१९ प्रति व्यारेल रहेको छ । यस अगाडि सन् १९८० जनवरीमा तेलको मूल्यभन्दा चाँदीको मूल्य धेरै थियो । त्यसपछि विश्व बजारमा चाँदीको मूल्यमा वृद्धिको तुलनामा संकुचनको अवस्था धेरै देखियो भने कच्चा तेलको मूल्य भने तुलनात्मकरुपमा बलियो देखियो । त्यसैले जहिले चाँदीमाथि तेल हावी भइरहेको थियो र लगानीकर्ताको ध्यान पनि चाँदीले खासै खिच्न सकेको थिएन । बस्तु वा धातु बजारमा लगानी गर्नेहरुले चाँदीलाई कम महत्व दिइरहेका थिए ।

तर विश्वव्यापीरुपमा बजार अनिश्चितताहरुका बीच लगानीकर्ताहरू सुन–चाँदीजस्ता सुरक्षित सम्पत्तिहरूतर्फ आकर्षित भइरहेकोले सुन र चाँदी जस्ता धातुको मूल्य उच्चरुपमा बढिरहेको बताउँछन् । नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका डा. यीओ ही चुवा केवल लगानीका कारण मात्र होइन, बलियो औद्योगिक माग र सीमित आपूर्तिका कारण पनि चाँदीको मूल्य वृद्धि भइरहेको बताउँछन् । तिनै दुई कारणले यो वर्ष चाँदीको मूल्य दोब्बरभन्दा बढी बढेको र लगानीकर्ताको ध्यान आकर्षित गरेको उनको भनाइ छ ।

 

त्यसमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिअन्तर्गत चाँदीमा समेत ट्यारिफ लगाइने सम्भावनाले अमेरिकी बजारमा यसको भण्डारण बढेको छ। यसले अन्य देशहरूमा आपूर्तिको कमी र विश्व बजारमा मूल्यवृद्धि भएको विश्लेषकहरू बताउँछन्।

अमेरिकाले आफ्नो आवश्यकताका लागि झन्डै दुई–तिहाइ चाँदी आयात गर्छ, जुन उद्योग, गहनादेखि लगानीसम्म विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ।

चाँदीको प्रयोग केवल गरगहनामा मात्र होइन, इलेक्ट्रिक सवारी (ईभी), सौर्य प्यानल, उन्नत ब्याट्री बनाउन पनि प्रयोग गरिन्छ । त्यसैले पनि यसकाे माग चौतर्फीरुपमा बढ्दो छ र साथै मूल्य पनि आकासिएको छ ।