नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा ६० लाख ३५ हजार ६९८ ग्राहकमा विद्युत् सेवा पुगेको थियो । हालसम्म विद्युत् पहुँचमा पुग्ने ग्राहकको संख्या केही बढ्न गएको छ ।

यो सँगै राष्ट्रिय ग्रीड र सामुदायिक तथा ग्रामीण विद्युतीकरणअन्तर्गत गरेर कुल ९८ प्रतिशत जनसंख्यामा विद्युतकाे पहुँच पुगेको प्राधिकरणले जनाएको छ । प्रत्यक्ष राष्ट्रिय ग्रीडमार्फत ९५ प्रतिशत र बाँकी ३ प्रतिशत सामुदायिक तथा ग्रामीण विद्युतीकरणमार्फत विद्युत लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
२०८२ असार मसान्तसम्म प्राधिकरणका विभिन्न विद्युत् वितरण केन्द्रमार्फत ५७ लाख ७ हजार ५२८ ग्राहकमा बिजुली पुगेको छ भने सामुदायिक विद्युत सहकारी संस्थातर्फका ३ लाख २८ हजार १७० ग्राहकमा बिजुली पुगेको हो । प्राधिकरणले आम विद्युत् उपभोक्तालाइ स्तरीय र भरपर्दो विद्युत् सेवा पुर्याउने गरी काम गरिरहेको छ ।
प्राधिकरणका ७ वटा प्रादेशक कार्यालय, २ वटा प्रदेश डिभिजन कार्यालयअन्तर्गत रहेका मुलुकभर १२९ वटा विद्युत् वितरण केन्द्रमार्फत आम उपभोक्तामाझ विद्युतीकरणको काम गरिरहेको छ । त्यस्तै, २६ वटा विभिन्न आयोजनामार्फत वितरण लाइन र वितरण सवस्टेशनहरु विस्तार गर्ने र स्तरोन्नति गर्ने काम गर्दै आएको छ ।
त्यस्तै, सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभागअन्तर्गत पनि आम उपभोक्ताका घर घरमा विद्युत् सेवा प्रवाह गर्ने काम भइरहेको छ । राष्ट्रिय ग्रीड नपुग्ने क्षेत्रमा सामुदायिकस्तर र ग्रामीण दूरदराजका क्षेत्रमा विभागबाट विद्युतीकरण गर्ने काम हुँदै आएको छ ।
दुई वर्षमा सकिएला ग्रामीण विद्युतीकरणको काम ?
विद्युत् प्राधिकरणको प्रणाली वा ग्रीडमार्फत विद्युतीकरण हुन नसक्ने कतिपय ग्रामीण दुरदराजमा सामुदायिक तथा ग्रामीण विद्युतीकरणमार्फत नै विद्युत् सेवा पुर्याउँदै आएको छ । समुदायिक र सहकारीसँगै निजी क्षेत्रबाट निर्माण भएका साना तथा मझौला जलविद्युत् आयोजनाहरुबाट उत्पादित बिजुलीले दुर्गमका क्षेत्रमा विद्युतीकरण गर्ने गरिएको छ ।
अहिले पनि ग्रामीण विद्युत्तीकरणको काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट बक्तव्यमा भने आगामी दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अहिले पनि कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न दुर्गम क्षेत्रहरुमा विद्युतकाे पहुँच विस्तार हुन सकिरहेको छैन् । हुम्ला, डोल्पा, मुस्ताङ, मुगु, बाजुरा, रुकुम पूर्वलगायतका जिल्लाका दुर्गम तथा विकट ग्रामीण क्षेत्रमा अहिले पनि विद्युत् सेवा पुग्न सकेको छैन् ।
ती क्षेत्रहरुमा सामुदायिक तथा ग्रामीण विद्युतीकरणमार्फत विद्युत् सेवा पुर्याएर दुई वर्षभित्र सतप्रतिशत नागरिकमा विद्युतकाे पहुँच पुर्याउने सरकारको योजना छ । दुई वर्षभित्र सामुदायिक तथा ग्रामीण विद्युतीकरणका बाँकी काम सम्पन्न हुने गरी काम भइरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । उनका अनुसार, हालसम्म ९८ प्रतिशत ग्राहकमा गुणस्तरीय विद्युत् सेवा प्रवाह भएको छ ।
आगामी दुई वर्षभित्र सतप्रतिशत नै ग्राहकसम्म विद्युतकाे पहुँच पुर्याउने गरी प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण लाइन निर्माण, विस्तार र स्तरोन्नतिको काम गरिरहेको उनले बताए ।