यद्धपी केन्द्रिय सदस्यमा दुवै पक्षको गुटमा परेका दर्जनौं उम्मेदवारहरु रहेकोले कतिपय व्यक्तिलाई कुन पक्षको भनेर छुट्याउन गाह्रो पर्ने देखिन्छ ।
जे भए पनि यो महाधिवेशनबाट अबको ५ वर्ष एमाले फेरि ओलीमय बनेको छ । त्यसले एमाले पार्टी तथा समग्र देशको राजनीतिमा कस्तो प्रभाव पार्ला ? आगामी दिनहरुले स्पष्ट पार्नेछन् ।

एमालेको यो महाधिवेशनमा देखिएका तीनवटा अलि फरक लाग्ने दृश्यहरु हुन्—ओलीको दबदबा सहित उनी पक्षका अधिकाँश पदाधिकारीले जित्दा पनि सदावहार ‘किचन मिनिष्टर’ मानिने उपमहासचिवमा विष्णु रिमालको पराजय, सर्वाधिक मतसहित महेश बस्नेतको जीत र पूर्व माओवादी खेमाका रामबहादुर थापा बादल र लेखराज भट्टको लोकप्रियता ।
शैक्षिक योग्यताले आर्किटेक्चर इन्जिनियर रिमाल ओलीका सदाबहार सबैभन्दा विश्वासिला पात्र हुन् । हरेक पटक प्रधानमन्त्री हुँदा मुख्य सल्लाहकार बन्ने गरेका रिमालले ओलीको आडमा सरकार र पार्टीमा पर्दा पछाडिबाट हालीमुहाली गर्ने गरेको कतैबाट छिपेको छैन । ओलीले गरेका अधिकाँश विवादास्पद निर्णयहरुको मुख्य ‘डिजाइनर’ रिमाल रहने गरेको कुरा स्वंय ओली निकटकै नेताहरु बताउँछन् ।
विगतमा ओलीको सबैभन्दा विश्वास पात्र मानिएका गोकुल वाँस्कोटा, कर्ण थापा, विनोद ढकाल, कृष्ण गोपाल श्रेष्ठलगायतका धेरै नेताहरुलाई किनारामा पुर्याउन रिमाल र महासचिव शंकर पोखरेलको मुख्य भूमिका रहेकोमा अधिकाँश एमाले नेता कार्यकर्ताहरु विश्वस्त छन् ।
उनीहरुको बुझाईमा रिमाल र पोखरेल सहितका नेताहरुको घेराबाट उम्किन नसक्दा ओलीले पार्टीमा इतर पक्षमाथि अहिष्णु व्यवहार गर्ने गरेका छन् । पार्टीमा आफ्नो दबदबा कायम रहँदा पनि ‘किचन मिनिष्टर’को पराजयले भने ओलीलाई गम्भिर धक्का दिएको विश्लेषण गरिएको छ ।
उपमहासचिवमा पराजय पछि ओलीका ‘आर्किटेक्ट’ रिमालको दबदबा केही हदसम्म कम हुने अपेक्षा एकथरि नेता कार्यकर्ताहरुले गरिरहेका छन् । अर्काथरि नेता कार्यकर्ता भने उनले ओली र महासचिव शंकर पोखरेलकाे आडमा पर्दा पछाडिबाट आफू पराजित हुँदाको तुष पोख्न ईश्वर पोखरेल पक्षका नेता कार्यकर्तामाथि झन धेरै ‘ज्यादती’ गर्न सक्ने आंशका गरिरहेका छन् ।
थापा र भट्टको जीतले गरेको संकेत
एमालेभित्र पूर्व माओवादीहरु अपहेलित हुँदै गइरहेको र उनीहरु उकुस मुकुसको अवस्थामा रहेको दावी प्रचण्डलगायतका कतिपय पूर्व माओवादी नेता कार्यकर्ताहरुले गर्दै आएका छन् । यस्तो अवस्थामा एमालेको ११ औं महाधिवेशनले त्यो कुरालाई पुरै खण्डित गरेको छ ।
उपाध्यक्षमा रामबहादुर थापा बादल र उपमहासचिवमा लेखराज भट्टले अत्यधिक मतका साथ जितेका छन् भने केन्द्रिय कमिटीमा पनि पूर्व माओवादीहरु लोकप्रिय मतका साथ विजयी हुने देखिएको छ । यसले एमाले पार्टीका नेता कार्यकर्ता अन्य पार्टीबाट प्रवेश गर्ने समाहित हुनेहरुप्रति उदार रहने गरेको र उनीहरुले कुनै अपमानित हुनु नपर्ने सन्देश दिएको देखिएको छ । त्यसबाट अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई एमाले प्रवेश गर्दा राजनीतिक भविश्य सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश दिएको एमाले नेता कार्यकर्ताहरु बताउँछन् ।