जेनजी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी

Dec 18, 2025 04:38 PM merolagani



श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेनजी आन्दोलनबाट घाइते, शहीद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताए । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरुसँग समझदारी गर्न लागिएको बताए । 

उनकाअनुसार शहीद परिवार र घाइतेलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरुले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ । त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उनले बताए ।

श्रममन्त्री भण्डारीले भने–‘यहाँको विद्यमान अवस्थाले चाहे व्यापारिहरुलाई होस् चाहे उद्योगीलाई होस् के भनिरहेको हुन्छ भने यहाँ उद्योग नगर सुरक्षित छैन । श्रम गर्ने मान्छेलाई पनि के गरिरहेको हुन्छ भने तिमी जाउ यहाँ गरिखाने ठाउँ छैन । तर हामी भनिरहेका छौं, आउनुस् यहाँ काम गरेर खाने वातावरण छ । हामीले त्यसो नभन्ने हो भने फेरि त्यो जनशक्ति हरेक वर्ष पलायन हुनुपर्ने अवस्था आउँछ । जसले योगदान पुर्याउछ त्यो सधैँभरी प्रताडित हुन्छ । चाहेँ कर्मचारीतन्त्रमा होस् चाहे अन्यत्रै । कुशासनको कुचक्रममा फसेको मुलुकमा यस्तै हुने गरेको छ । म इमान्दारिताका साथ काम गर्छु भन्ने हो भने त्यो प्रताडित हुनुपर्ने अवस्था आउछ । अहिले मैले केही योजना बनाउँदैछौं । जेनजी आन्दोलनबाट घाइते, शहिद परिवारका १ हजारलाई निशुल्कमा वैदेशिक रोजगारीमा पठाउन खोज्दैछौं । उनीहरुले सिकेको सिप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ ।’

भण्डारीले केही गर्न खोज्नेलाई मुलुकमा प्रताडित गराउन खोजिएको बताउँदै त्यस्तो गतिविधिहरु रोकिनुपर्ने समेत बताए।