रिलायन्स स्पीनिङ मिल्सकाे आईपीओ निष्काशन प्रक्रियाको निष्पक्ष छानविनका लागि सेबोनले गठन गर्यो समिति

Dec 19, 2025 10:19 AM Merolagani



रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्ने सम्बन्धमा भएका काम कारवाहीका सम्बन्धमा निष्पक्ष छानविन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समिति गठन गरेको छ।

बोर्डले बिनोद कुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्यसहितको एक समिति गठन गरेको हो। समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ। समितिले आवश्यकता अनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी समिति गठन गरिएको बोर्डले जनाएको छ।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले कम्पनीको शेयर निष्काशन प्रक्रियाका सन्दर्भमा प्रश्न उठाउँदै छानविन गर्न हिजाे नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको थियाे।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि भने हालै आईपीओ निष्कासन गरिसकेको छ

कम्पनीले संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गर्दा डेडिकेटेड लाइन प्रयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ दायित्व लुकाएको थियो जबकि कम्पनीले अहिले दायित्व स्वीकार गरेर प्राधिकरणलाई किस्ता बुझाउन थालिसकेको छ।

प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ दायित्वको हिसाब नगरी सेबोनले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न रिलायन्स स्पिनिङलाई अनुमति दिएपछि तत्कालीन प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८१ असार अन्तिम साता स्थगित गर्न लगाएको थियो।